
प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले आफ्नो २१ औँ वार्षिक प्रतिवेदन २०७८ (मस्यौदा) पारित गरेको छ ।
शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकले २१ औँ वार्षिक प्रतिवेदन २०७८ (मस्यौदा) समितिबाट पारित गरेको हो ।
समितिको बैठकपछि बोल्दै समितिका सचिव डा. रोजनाथ पाण्डेले समितिले गरेका काम कारबाहीहरूको वार्षिक प्रतिवेदन सदनमा पेश गर्ने उद्देश्यले मस्यौदा प्रतिवेदन पारित गरिएको जानकारी दिए ।
उनले प्रतिवेदनमा ९ वटा उपसमितिहरूले गरेका बेरुजु फर्छ्यौटका कामहरू समावेश गरिएको बताए । सचिव पाण्डेले प्रतिवेदनमा समितिले समसामयिक विषयहरूमा गरेका निर्णयहरू, गण्डकी प्रदेशको कालीगण्डकी करिडोरलगायत त्यस आसपासमा रहेका राष्ट्रिय गौरवका आयोजनाहरूको निरीक्षणलगायतका कुराहरू यसमा समावेश रहेको बताए ।
सचिव पाण्डेले समितिको उक्त प्रतिवेदन अनुमोदनका लागि सदनमा पेश गर्नका लागि प्रस्ताव गर्ने पनि बताए । उनले फास्ट ट्रयाकसम्बन्धी प्रतिवेदन यसअघिकै प्रतिवेदनमा संलग्न भइसकेको र पछिल्लो समय नेपाली सेनाले पुनः विचारको लागि रक्षा मन्त्रालयमा अनुरोध गरेकोले अहिले उक्त प्रतिवेदन समितिमा विचाराधीन अवस्थामा रहेको बताए ।