२३ असार २०८३, मंगलबार
इतिहासमा फागुन २०

गिरिजा मुस्किलले बाँचेको त्यो दिन : देउवाको ओठको चोट सम्झाउने सुरजपुरा घटना

फागुन २०, २०७८
गिरिजा मुस्किलले बाँचेको त्यो दिन : देउवाको ओठको चोट सम्झाउने सुरजपुरा घटना

२० फागुन २०४० । तराईमा पञ्चायतका समर्थक 'मण्डले'हरूको बिगबिगी थियो । नेपाली कांग्रेस संगठन सुदृढीकरण गर्दै लोकतन्त्र स्थापना लागि प्रयासरत थियो ।

पार्टीका प्रायः सबै प्रभावशाली नेताहरू देश दौडाहामा निस्किए । 

आजभन्दा झण्डै चार दशकअगाडि आजकै दिन (फागुन २० गते) कांग्रेसका तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइराला, हालका प्रधानमन्त्री शेरबहादुर देउवा, शैलजा आचार्य लगायतका रूपन्देहीको सुरजपुरा आउने कार्यक्रमले कांग्रेस कार्यकर्तामा निकै उत्साह थियो ।

हालको देवदह नगरपालिका वडा नम्बर ३  सुरजपुरास्थित कांग्रेसका तत्कालीन रूपन्देही सभापति पुष्पानन्द गिरीको घरमा सभा राखिएको थियो । 

अन्य ठाउँभन्दा सुरजपुरा पञ्चहरूबाट केही सुरक्षित देखेर कांग्रेसले त्यहाँ कार्यक्रम राखेको थियो । गिरिजाले भाषण शुरू गरेका मात्र थिए, चारैतिरबाट घेरेर सांघातिक आक्रमण भयो । ढुंगा मुढासहित खुकुरी नचाए । आक्रमण भएपछि कांग्रेस कार्यकर्ताहरूको भागाभाग भयो । दर्दनाक घटनामा परेर कांग्रेस रुपन्देहीका तत्कालीन नेता यादवनाथ आलोक र रामप्रसाद चौधरीको मृत्यु भयो । २०० भन्दा धेरै घाइते भए । 

‘मण्डलेहरू ठूलो गिरी (पुष्पानन्द) र गिरिजाको टाउको छिनेर लैजाने हो भनेर आएका थिए,’ घटनाका प्रत्यक्षदर्शी भूमा गिरीले लोकान्तरसँग भनिन्, ‘हामीले गिरिजा, शेरबहादुर, रामचन्द्र, शैलजालाई घरभित्र आँटीमा लुकाएर राख्यौं । नत्र मण्डलेहरूले सिध्याउँथे ।’ 

७० वर्षीया भूमाले थपिन्, ‘अहिलेका कांग्रेसका सभापति देउवाको ओठमा चोट छ नि ? त्यहीँ सुरजपुरा घटनामा मण्डलेहरूको आक्रमणबाट लागेको चोट हो । मण्डलेहरू आउने भन्ने संकेत पाएपछि अरू नेताको भाषण नराखेर गिरिजाको मात्र राखिएको थियो । उहाँ बोल्न थाल्नेबित्तिकै कालो झण्डासहित मण्डलेको जत्थाले घेरिहाल्यो ।’ 

महिलाहरूले छेकेर राखेकाले नेताहरूलाई बचाउन सम्भव भएको उनी सम्झिन्छिन् ।

भूमा गिरी

‘हामीले गिरिजासहित सबैलाई ढाकेर राखियो । धन्न त्यो समयमा मण्डलेहरूले आइमाई मान्छेलाई छोएनन् र गिरिजासहित कांग्रेसका नेताहरू बाँचे,’ उनले भनिन् ।

गिरिजालाई घरको पहिलो तलामा राखेर ढोकामा भोटे ताल्चा लगाइएको थियो । पुष्पानन्दले गिरिजा लगायतका नेताहरूलाई भित्र लगेका थिए । नेताहरू घरमा आँटी (माथिल्लो तला) थिए, तलबाट घरमा आगो लगाएको थियो । 

बिहीवार लोकान्तरकर्मीसामु ४ दशक पहिलेको घटना स्मरण गर्दैगर्दा भूमा झसंग बनिन् । सुरजपुराकाण्डको नामले बदनाम उक्त घटना रुपन्देहीवासीले अझै बिर्सिएका छैनन् ।

‘हामी कसैसँग डराउन हुँदैन । हामी डरायौं भने, केही गर्न सक्दैनौं । पुलिस प्रशासनले हामीलाई तर्साउन खोज्छ । अनेक हतकण्डा अपनाउन सक्छन् । समात्न सक्छन् । कारवाही पनि गर्न सक्छन् । तर, हामी पछि हट्नु हुँदैन । तपाईंहरूले आफ्नो मनबाट डर भन्ने ननिकाल्नुहोला भन्दाभन्दै मण्डलेहरूको हुलले आक्रमण गरिहाल्यो,’ घटनाका घाइते समेत रहेका कांग्रेस रुपन्देहीका पूर्व सभापति रामचन्द्र ढकालले लोकान्तरसँग भने ।

‘हातमा नांगा खुकुरी लिएका थिए । सबैले झोला बोकेका थिए । लाठी पनि साथमा थियो । केहीका हातमा रक्सीका जर्किन थिए,’ घटनाका अर्का प्रत्यक्षदर्शी घनश्याम गिरीले सम्झिए, ‘झोलाबाट ढुंगा निकालेर प्रहार गर्न थाले ।’

घनश्याम गिरी

ढोका बन्द गरेपछि उनीहरू झ्याल फोडेर भित्र पसे । घरका थाम काटे । तर, माथिल्लो तलामा जान सकेनन् । लगातार २ घण्टासम्म उनीहरूले ढुंगा प्रहार गरे । भेटेजतिका कार्यकर्तालाई आक्रमण गरे । प्रहरीकै संरक्षणमा त्यो बेला आक्रमण भएको प्रत्यक्षदर्शी घनश्याम गिरी बताउँछन् । 

७० वर्षीया भूमाले थपिन्, ‘अहिलेका कांग्रेसका सभापति देउवाको ओठमा चोट छ नि ? त्यहीँ सुरजपुरा घटनामा मण्डलेहरूको आक्रमणबाट लागेको चोट हो । मण्डलेहरू आउने भन्ने संकेत पाएपछि अरू नेताको भाषण नराखेर गिरिजाको मात्र राखिएको थियो । उहाँ बोल्न थाल्नेबित्तिकै कालो झण्डासहित मण्डलेको जत्थाले घेरिहाल्यो ।’ 

आक्रमणको नेतृत्व पञ्चायत पक्षधर कूलबहादुर बाठा भन्ने व्यक्तिले गरेको उनीहरूको भनाइ छ ।

आफूहरूले प्रतिकार गर्न खोज्दा पुलिसले गोली गोली चलाएको छ, उनीहरूले आक्रमण गर्दा केही नगरेको उनीहरूको गुनासो छ ।

माथिल्लो तलामा जान नसकेपछि उनीहरूले घरभित्रका धेरै सामान लिएर गएका थिए । ‘शरीरमा लगाएको कपडाबाहेक अरू बाँकी राखेनन् । घटनामा गम्भीर घाइते भएका १९ जनालाई गोरुले तान्ने ६ वटा लडियामा राखेर सेमरा बजारसम्म लगियो । सेमराबजारबाट ट्रकमा राखेर घाइतेहरूलाई बुटवल ल्याइयो । २२ गते सुरजपुरा घटनामा घाइते भएका यादवनाथ आलोकको मृत्यु भयो । शिक्षक रामप्रसाद चौधरीको घटनाको दशौं दिनमा ज्यान गयो,’ उनलेभ ने । 

गिरिजाप्रसाद कोइरालालाई मार्ने उद्देश्य सुरजपुरा घटना घटाइएको त्यसबेलाका जिल्ला सभापति ढकाल बताउँछन् । सुरजपुरा आउनुभन्दा अघि पनि बाटोमा गिरिजाप्रसाद कोइरालालाई आक्रमण गर्ने योजना पञ्च समर्थकहरूको थियो ।

काठमाडौंबाट आउने क्रममा पनि गिरिजाप्रसाद गाडी परिवर्तन गरेका कारण आक्रमणबाट बचेका थिए । काठमाडौंबाट रुपन्देही आउँदै गर्दा चितवनभन्दा पर कोइराला चढेको जीप बिग्रियो । त्यसपछि गिरिजासहितका नेताहरू ट्रकमा चढेर खैरेनीसम्म आए । जीप कुरेर बसेका मण्डलेहरूले ट्रकमा आएको थाहा पाएनन् । तत्कालीन राजा वीरेन्द्रलाई चुनौती दिँदै हिँडेकाले गिरिजाप्रसादमाथि आक्रमणको प्रयास भएको तर्क कांग्रेस नेताहरूको छ ।

गिरिजाप्रसाद कोइराला र राजा वीरेन्द्रबीच भेट हुँदा राजाले गिरिजालाई भनेछन्, ‘तपाईंहरूको नेपाली कांग्रेस धेरै जनताबाट टाढा भयो । तपाईंको कुरा कसले सुन्छ अब ?’ जवाफमा गिरिजाप्रसादले भनेछन्, ‘अब म जनतामाझ जान्छु । मेचीदेखि महाकालीसम्म पुग्छु । शहरमुखी नभई गाउँका मान्छेहरूसँग आफ्ना कुरा राख्छु ।’ 

त्यति भनेर आफ्ना सहकर्मीलाई लिएर गिरिजा देश दौडाहामा निस्किएका थिए । त्यसै क्रममा सुरजपुरा आएका थिए । ‘कांग्रेसलाई गाउँगाउँमा जान नदिने उद्देश्यले नै त्यसबेलाको घटना घटाइएको हो,’ ढकालले थपे ।  

पूर्व सभापति ढकाल

मुलुकमा बहुदलीय व्यवस्था आउनुभन्दा झण्डै ६ वर्षअघि २०४० साल फागुन २० गते भएको सुरजपुरा घटना नेपाली कांग्रेसको इतिहासको एउटा कहालीलाग्दो घटना हो । त्यस घटनापछि गिरिजाप्रसाद कोइराला ४ पटक सुरजपुरा पुगेका थिए । अरू केन्द्रीय नेता पनि रुपन्देही आएका बेला सुरजपुरा पुग्छन् ।

कांग्रेसले २२ गते सुरजपुरा घटनाको सम्झनामा कार्यक्रम गर्दै आइरहेको छ । कांग्रेसले आलोकलाई शहीद घोषणा गरिसकेको छ ।

प्रजातन्त्र आएपछि गिरिजा र देउवा सरकारको नेतृत्वमा पुगे पनि सुरजपुरा घटनाको छानबिन नभएको कांग्रेस नेताहरू बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्