
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालका वामपन्थी (कम्युनिस्ट) दलहरू खामपन्थी बन्दै गएको टिप्पणी गरेका छन् ।
अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसीसीको विरोधमा साना ६ दलले शुक्रवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा केसीले कम्युनिस्ट खोल ओडेका नेताहरूले एमसीसीमा राष्ट्रघात गरेको आरोप लगाएका हुन् ।
‘२००७ सालदेखि वामपन्थीले देश र राष्ट्रियताको पक्षमा आन्दोलन गर्दै आएका थिए,’ केसीले भने, ‘अहिले घुँडा टेके, एकातिर एमसीसी खारेज गर्नुपर्छ भनेर पार्टी कार्यकर्तालाई जुलुस निकाल्न लगाए, अर्कातिर व्याख्यात्मक घोषणाको नाममा एमसीसी पास गरे ।’
एमसीसीको पक्षमा वकालत गर्नेहरूले नेपालका छोराछोरी विदेश जानु पर्दैन भनेर झुटको खेती गरिरहेको आरोप उनले लगाए ।
केसीले थपे, ‘एमसीसी खारेज गर्न सकेनौँ भने नेपालको स्थिति अफगानिस्तान, इराक र सिरियाको जस्तो हुनेछ, यो मैले भावावेशमा आएर भनेको छैन,’ केसीले भने, ‘यो देशलाई साम्राज्यवादको शिकार हुन नदिनका लागि संघर्ष गर्नुपरेको छ ।’