
नेपाल बैंक र पोखरा विश्वविद्यालयबीच फागुन १९ गते भएको सम्झौता बमोजिम बैंकले पोखरा विश्वविद्यालयमा कार्यरत कर्मचारी एवं विद्यार्थीलाई आधुनिक एवं सहुलियतपूर्ण बैंकिङ सेवा प्रदान गर्ने व्यवस्था गरेको छ ।
जसअन्तर्गत विश्वविद्यालयमा कार्यरत सम्पूर्ण स्थायी, अस्थायी, करार, आंशिक तथा ज्यालादारी प्राध्यापक, शिक्षक, कर्मचारीहरू सम्पूर्णको तलबी खातामा बैंकले बचत निक्षेपको उच्चतम ब्याजदर प्रदान गरी एटीएम कार्ड निःशुल्क उपलब्ध गराइने, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ रजिस्ट्रेसन निःशुल्क उपलब्ध गराउने, बैंकको लकर भाडामा २५% छुट प्रदान गरिने, जुनसुकै प्रकारको कर्जा लिदा सेवा शुल्कमा २५% छुट प्रदान गरिने बैंकका प्रवक्ता प्रमुख प्रशासकिय अधिकृत प्रकाशकुमार अधिकारीले जानकारी दिए ।
यसैगरी डीम्याट, सी–आस्बा, मेरो शेयर रजिस्ट्रेसन सुविधा निःशुल्क उपलब्ध गराइने, कर्मचारीहरूलाई क्रेडिट कार्डको सुविधा प्रदान गर्ने लगायत बैंकको कुनै एक शाखामा रहेको खाताबाट नेपाल बैंक लिमिटेडकै अन्य कुनै पनि खातामा जतिसुकै रकम ट्रान्सफर गर्न चाहेमा विना कुनै शुल्क तत्कालै ट्रान्सफर गरिने, विश्वविद्यालयको आवश्यकता अनुसार विश्वविद्यालय परिसरमा एटीएम मशिन, बैंक काउन्टर, बैंकको शाखा स्थापना गरी बैंकले सेवा प्रदान गर्ने लगायत विविध बैंकिङ सेवा एवं सुविधाहरू उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको थियो ।
पोखराको लेकसाइडमा भएको सम्झौता पत्रमा पोखरा विश्वविद्यालयको तर्फबाट रजिस्टार डा. दीपकबहादुर भण्डारी र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरेका छन् ।
नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अधिकारीले नेपालको पहिलो बैंक र विश्वविद्यालय बीचको सम्झौताले दुवैलाई उचाइमा पुर्याउने विश्वास व्यक्त गरे । विश्वविद्यालयका उपकूलपति प्रेमनारायण अर्यालले नेपाल बैंक लिमिटेड पहिलो र भरपर्दो भएकाले हस्ताक्षर गरिएको बताउँदै विश्वविद्यालय र बैंकलाई अझ व्यावसायिक उचाइमा कसरी पुर्याउन सकिन्छ भन्ने विषयमा आफूहरूको जोड रहने उल्लेख गरे ।
बैंकका गण्डकी प्रदेश कार्यालय प्रमुख प्रतिमा श्रेष्ठले सम्झौतालाई ऐतिहासिक रूपमा लिएको बताउँदै आर्थिक कारोबारको रूपमा नेपाल बैंकलाई छनोट गरेको भन्दै विश्वविद्यालयलाई ध्रन्यवाद दिइन् ।
कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकूलपति प्रेमनारायण अर्याल, नेपाल राष्ट्र बैंक पोखराका प्रमुख डा. रामशरण खरेल, बैंकका बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रबन्धक कृष्णहरि बुढाथोकी, विश्वविद्यालयका पदाधिकारीहरू, बैंकका कर्मचारीको समेत सहभागिता रहेको थियो ।