
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड कालोपत्र हुने भएको छ ।
कालीगण्डकी करिडोरको बागलुङ खण्डअन्तर्गत मालढुङ्गा–बलेवा खण्डको १० किलोमिटर सडकखण्ड कालोपत्रका लागि अर्थ मन्त्रालयले बजेट सुनिश्चताता गरेसँगै सडक कालोपत्र हुने भएको हो ।
बागलुङ खण्ड अन्तर्गतको मालढुङ्गा–टाकुरी–पालुङखोला ३८ किलोमिटर सडक सडक विभागलाई हस्तान्तरण भइसकेको छ ।
हस्तान्तरण भएको ३८ किलोमिटर सडकमध्ये शुरूमा हस्तान्तरण गरिएको मालढुङ्गादेखि बलेवा विमानस्थलसम्मको सडक कालोपत्रका लागि अर्थ मन्त्रालयले बजेट सुनिश्चितता गरी बहुवर्षीय ठेक्का प्रक्रियाका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र पठाइसकेको अर्थ मन्त्रालयका शाखा अधिकृत सुशीला देवी भट्टले जानकारी दिए ।
नेपाल सरकारले कालीगण्डकी करिडोरको गैंडाकोट–राम्दी–मालढुङ्गासम्म सडक कालोपत्रका लागि विनियोजन भएको १ अर्ब १ करोड १८ लाख १७ हजारमध्ये बागलुङ खण्डअन्तर्गतको मालढुङ्गा बलेवा विमानस्थलसम्मको १० किलोमिटर सडक कालोपत्रका लागि बहुवर्षीय ठेक्का प्रक्रियामा जान स्रोतको व्यवस्था भएको पत्र अर्थ मन्त्रालयले फागुन १८ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाएको थियो ।
सडक विभागलाई हस्तान्तरण गरेको २ वर्षमा बल्ल सडक कालोपत्रका लागि बजेट विनियोजन भएको हो । करिडोर अन्तर्गतको मालढुङ्गादेखि बलेवा विमानस्थलसम्मको १० किलोमिटर सडक १० मिटर चौडा बनाइ विभागलाई २०७६ पुस १ गते हस्तान्तरण गरिएको थियो ।
कोरोनाका कारण ढिलाइ भएको बागलुङ खण्डको बलेवा विमानस्थलदेखि पालुङखोलासम्म २८ किलोमिटर सडक १० मिटर चौडा पार्ने कार्य सकिएर गत असारमा नेपाली सेनाले विभागलाई हस्तान्तरण गरेको थियो ।
कालोपत्र गर्न ढिलाइ भएकामा नागरिकबाट गुनासो र आलोचना हुन थालेपछि अर्थ मन्त्रालयले बजेट निकासा गरेको हो । नेपालीको भाग्यरेखाका रूपमा रहेको भारत र चीनसँग जोडेर त्रिदेशीय सम्पर्कका रुपमा स्थापित हुने करिडोरको काम अगाडि बढ्ने अपेक्षा गरिएको छ ।