लोकान्तर संवाददाता
काठमाडौं, १८ पुस –चन्द्रागिरी केवलकार चढ्न जान चाहनेले अब काठमाडौंबाट निःशूल्क बस सेवा पाउने भएका छन् । चन्द्रागिरी हिल्स प्रालिले आइतवारदेखि यस्तो सेवा सुरु गरेको हो ।

निःशूल्क बस सेवाको शुभारम्भ प्रालिका अध्यक्ष चन्द्र ढकालले भालेश्वर महादेवको दर्शन गर्न आउने दर्शानार्थी र चन्द्रागिरी घुम्न आउने पर्यटकलाई यो सेवाले सहजता थप्ने बताए ।
चन्द्रागिरि हिल्स प्रालिले चन्द्रागिरि केबलकार चढेर भालेश्वर महादेवको दर्शन गर्न आउने दर्शानार्थी तथा घुम्न आउने पर्यटकका लागि अशोक लेलेण्डको ४२ सिट क्षमता भएको नि :शूल्क बस सेवाको व्यवस्था गरेको हो ।
निःशूल्क ती बसहरू प्रत्येक दिन बिहान साढे ७ बजे काठमाडौंको महाराजगञ्ज र कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटबाट लाग्ने छन् ।
महाराजगञ्ज भाटभटेनीबाट छुट्ने बस नयाँँ बसपार्क, बालाजु भाटभटेनी, स्वयम्भू, कलङ्की हुँदै चन्द्रागिरि केबलकार पुग्ने छ । त्यस्तै, कोटेश्वर भाटभटेनीबाट छुट्ने बस बालकुमारी, ग्वार्को, सातदोबाटो, एकान्तकुना, बल्खु,कलङ्कीहुँदै चन्द्रागिरि केबलकार पुग्ने छ । ती बसहरू गएकै रुटहुँदै फर्किनेछन् ।
केबलकार संचालनमा आएदेखि शनिवारसम्म २ लाख २५ हजार जनाले केबरकारको यात्रा गरेर भालेश्वर महादेवको दर्शन गरेको प्रालिले जनाएको छ ।