
काठमाडौं, २१ असार — उत्तर कोरियाले मंगलवार अमेरिकाको अलास्कासम्म पुग्नसक्ने लामो दूरीको क्षेप्यास्त्र परीक्षण गरेपछि अमेरिका र दक्षिण कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र अभ्यास गरेका छन् ।

‘युद्ध र युद्धविरामलाई छुट्ट्याउने आधार स्वनियन्त्रण मात्र भएको र त्यो कुनै पनि बेलामा परिवर्तन हुनसक्ने यी दुई साझेदारले बताएका छन् ।
उत्तरले अन्यथा सोच्नु ‘गम्भीर भूल’ हुने उनीहरूले बताए ।
चीन र रुसले उत्तरलाई आफ्नो हतियार कार्यक्रम बन्द गर्न आग्रह गरेका छन् र यसको बदलामा अमेरिका र दक्षिण कोरियाले सैन्य अभ्यास रोक्नुपर्ने पनि बताएका छन् ।
उत्तर कोरियाले हिजो गरेको प्रक्षेपण संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को प्रतिबन्धलाई चुनौती दिँदै गरिएको थियो ।
अमेरिकाले यस विषयमा छलफल गर्नका लागि तत्कालै सुरक्षा परिषद् बैठक बोलाउनुपर्ने आग्रह गरेको छ । पन्ध्र सदस्यीय निकायको बन्दसत्र बैठक बुधवार अबेर बस्नेछ ।
मंगलवार प्योङयाङले सफलतापूर्वक अन्तर्महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षणको दाबी गरेको थियो ।
तर धेरैजसो विज्ञहरूले उत्तरसँग अहिलेसम्म लामो दूरीको आणविक हतियार क्षमता विकसित भइनसकेको बताएका छन् ।
बीबीसीबाट