
वोस्टन म्याराथन बम विस्फोटका प्रमुख अभियुक्त जोखार आन्जोर्भिक सारानेभलाई घटनाको करिब आठ वर्षपछि मृत्युदण्डको सजाय सुनाइएको छ ।
अमेरिकाका प्रायः सबैजसो सञ्चार माध्यमका अनुसार शुक्रबार सर्वोच्च अदालतको ६–३ बहुमतले उनलाई मृत्युदण्डको सजाय सुनाएको हो तर मृत्युदण्ड पाँच वर्षपछि मात्र दिन पनि अदालतले आदेश गरेको छ । कानुनी अड्चनका कारण अदालतले तत्कालका लागि कुनै कारबाही नगर्नू भन्ने आदेश दिएको छ ।
घटनाको तीन दिनपछि उनलाई लुकिरहेको अवस्थामा पक्राउ गरिएको थियो ।
सन् २०१५ देखि अदालतमा उनलाई मृत्युदण्ड दिने वा आजीवन काराबास दिनेबारे बहस भइरहेको थियो ।
सन् २०१३ को अप्रिल १५ मा विश्वको सर्वाधिक प्रतिष्ठितमध्येको एक वोस्टन म्याराथनको अन्तिम बिन्दुमा जोखार र उनका दाजु तामेरलानले दुईवटा प्रेसर कुकर बम विस्फोट गराएका थिए ।
सो विस्फोटबाट तीन जना दर्शकको घटनास्थलमा नै मृत्यु भएको थियो भने भाग्ने क्रममा त्यसको केही बेरमा उनका दाजु तामेरलानले चलाएको गोलीबाट एमआईटीमा कार्यरत पुलिस अफिसरको मृत्यु भएको थियो ।
प्रहरीको जवाफी कारबाहीमा दाजु तामेरलानको पनि सोही दिन मृत्यु भएको थियो । विस्फोटको घटनामा २६० भन्दा बढी दर्शक घाइते भएका थिए । सरानेभ दाजुभाइ किर्गिस्तानबाट अमेरिका बसाइ आएका थिए । हाल उनी २८ वर्षका भएका छन् ।
अमेरिकाको तल्लो अदालतले उनलाई छ वर्षअघि नै मृत्युदण्डको फैसला सुनाएको थियो तर पुनरावेदन अदालतमा मुद्दा विचाराधीन रहेका कारण उनलाई मृत्युदण्ड दिन ढिलाइ भएको थियो ।
शुक्रबार सर्वाेच्चले तल्लो अदालतको निर्णयलाई सदर गर्दैै उनलाई मृत्युदण्ड दिने फैसला गरेको हो ।
कोलोराडोस्थित अति सुरक्षित ठूला–ठूला अपराधकर्मीलाई राखिने कारागारमा रहेका सारानेभलाई मृत्युदण्ड दिनुहुँदैन, उनी दाजुबाट बढी प्रभावित भएकाले उनी निमित्त मात्र हुन् भनेर उनका वकिलले जिकिर गरेका थिए तर अदालतले भने उनलाई मृत्युदण्ड दिने फैसला सुनायो । कृष्णराज खनालले गोरखापत्र दैनिकमा खबर लेखेका छन् ।