
युक्रेनमाथि रुसले गरेको आक्रमणका लागि पश्चिमी सैन्य गठबन्धन नेटोको विस्तारवादी नीति दोषी रहेको धेरै विश्लेषकको भनाइ छ ।
तर रुसले आफ्नो छिमेकमा रहेका भौगोलिक रूपमा साना मुलुकहरूको सुरक्षा चिन्तालाई बेवास्ता नगरेकाले अहिलेको स्थिति आएको बर्मिङ्घम विश्वविद्यालयमा इन्स्टिच्युट फर जर्मन यान्ड युरोपीयन स्टडीजका सहप्राध्यापक क्लायस रिक्टरले दाबी गरेका छन् ।
उनका अनुसार :
नेटो जबर्जस्ती विस्तार गर्न हुँदैन । अनि नेटोले आफूलाई त्यसरी विस्तार गरेको पनि छैन । नेटोमा सदस्य बन्न आवेदन दिनुपर्छ ।
हामीले साना मुलुकको कर्तृत्वलाई सम्मान गर्ने हो भने नेटोमा प्रवेश गर्ने उनीहरूको चाहनालाई सम्मान गर्नुपर्छ । उनीहरू कसैलाई पनि नेटोमा प्रवेश गर्न फकाइएको थिएन ।
पश्चिमका मानिसलाई पूर्वी युरोपका साना राज्यको सुरक्षाको हेक्का छैन । सन् १९९१ देखि नै उनीहरूको परराष्ट्रनीतिमा सुरक्षा अपरिहार्य कुरा हो । पश्चिम युरोपमा जस्तो उनीहरूका लागि सुरक्षा अमूर्त कुरा हैन ।
युक्रेन, लिथुएनिया, मोल्दोभा वा इस्टोनियाको सुरक्षा चिन्ता रुसको भन्दा बढी वस्तुगत छ । शीतयुद्धको अन्त्यपछि रुसले आफ्नो पश्चिमी सीमामा कुनै सैन्य जोखिम अनुभव गरेको छैन ।
तर पूर्वी युरोपमा रहेका मुलुकका नागरिकका लागि आफ्नो देश विश्वको नक्सामै नरहला भन्ने पीर गहिरोगरी बसेको छ । त्यस त्रासले उनीहरूको दैनिक जीवनलाई प्रभावित पार्छ, उनीहरूलाई तदनुरूप भविष्यको योजना बनाउन लगाउँछ र इतिहासमा आफ्नो स्थान के होला भनी हेर्न लगाउँछ ।
बाल्टिक मुलुकहरूको अस्तित्व र पहिचान रुसबाट कुनै हानि नहोस् भन्नेमा केन्द्रित छ । उनीहरूको सामूहिक अस्तित्वका लागि सुरक्षाको महत्त्व रुस वा पश्चिमले बुझेको जस्तो सुरक्षासँग तुृलना गर्न मिल्दैन ।
रुसको प्रभावक्षेत्रमा नेटोको अतिक्रमणका कारण अहिलेको युद्ध भएको भनी तर्क गर्नेहरूले यस तथ्यलाई पूर्णतः बेवास्ता गरेका छन् ।
यथार्थवादी चिन्तकहरूले भन्नेछन्, ‘संसारको प्रकृति नै त्यस्तै छ ।’ तर यो त्यस्तो हैन । यो संसार यस्तो छ किनकि यो यस्तै छ भन्ने सोच मानिसमा बसेको छ ।
यो राजनीतिक सोच भन्दा पनि पुस्ताको समस्या हो । दक्षिणपन्थी शीतयुद्ध पक्षधरहरू र वामपन्थी शान्ति अभियन्ताहरू सन् १९९१ अघि राजनीतिक रंगमा मुछिएका थिए । उनीहरू यथार्थवादी राजनीतिक व्याख्यालाई बदिलएको युगमा पनि जारी राख्छन् ।
तर पूर्वी युरोपमा बस्ने अनि रुसको आक्रामकताको दुष्परिणाम बेहोर्ने मानिसको कुरा पनि उनीहरूले सुन्नुपर्छ ।
जर्मनी र रुसको बीचमा रहेका मुलुकका लागि २०औं शताब्दी भनेको राजनीतिक र सैन्य आक्रामकता, सार्वभौमसत्ताको क्षय, मानिसका कारण भएका भोकमरी, साइबेरियातर्फको वनवास, जातीय सफाया, स्वामित्व हरणको शताब्दी हो ।
उनीहरूको सुरक्षा चिन्ता रुसको भन्दा निकै बढी छ । अहिले बाल्टिक क्षेत्रका मुलुकहरू नेटोको सदस्य भएकाले जोगिएका हुन् भने युक्रेनीहरू त्यसको दिस्य नभएकाले रुसी आक्रमणमा परेका हुन् ।