
सरकारले कोभिड-१९ को संक्रमण दर घटेको भए पनि जोखिम कायमै रहेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ ।
देशमा पछिल्ला हप्ताहरूमा कोभिड–१९ को संक्रमण दर, अस्पताल भर्नाको दर र संक्रमित भई मृत्यु हुनेको दरमा कमी आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीर अधिकारीले जानकारी दिए ।
सरकारले तीव्र रुपमा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन भएका कारण पनि संक्रमण दरमा कमी आएको उल्लेख गरे । अफ्रिकी देशहरूमा खोप अभियान कम सञ्चालन भएका कारण ती देशहरूबाट कोभिड–१९ को नयाँ–नयाँ भेरियन्टहरू जन्मिन सक्ने भएकाले अझै पनि संक्रमणको जोखिम नटरेको उनको भनाइ छ ।
सहायक प्रवक्ता डा. अधिकारीले कोभिड–१९ को नयाँ भेरियन्ट आएको खण्डमा पनि खोप र जनस्वास्थ्यको मापदण्डले नै जोखिम कम गर्ने अवस्था रहेको बताए ।
उनले संक्रमण दर घटेसँगै मन्त्रालयले गर्ने सबै प्रकारका स्वास्थ्य सँग सम्बन्धित कामहरू पूर्ण रुपमा सुचारु भएको पनि बताए ।