२३ जेठ २०८३, शनिबार

सानो उमेर ठूलो सफलता

फागुन २३, २०७८
सानो उमेर ठूलो सफलता
तस्वीर सौजन्य : अन्नपूर्ण पोस्ट

प्रतीक्षा राना भर्खर ११ वर्षकी भइन्। पोखरा कोलपाटनकी प्रतीक्षा सानै उमेरमा खेलकुदमा भविष्य खोजिरहेकी छन्।

कोलपाटनको रेन्बो एकेडेमीमा कक्षा पाँचमा अध्ययनरत प्रतीक्षाले काठमाडौंमा जारी 'प्रथम वीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेकी छन्। पहिलो पटक राष्ट्रिय प्रतियोगितामा सहभागी भएकी उनले सिनियर खेलाडीहरूलाई पराजित गर्दै सबैलाई आश्चर्यमा पारेकी छन्।

महिलाको व्यक्तिगत ईपीमा प्रतिस्पर्धा गरेकी उनले लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम १६ मा स्थान बनाएकी थिइन्। अन्तिम १६ को प्रतिस्पर्धामा पनि विभागीय टोली त्रिभुवन आर्मी क्लबकी शान्ति भण्डारीलाई कडा टक्कर दिइन्। प्रतिस्पर्धात्मक भिडन्तमा प्रतीक्षाले १०-४ ले पराजय बेहोरेकी थिइन्। त्यसअघि समूह चरणको खेलमा प्रतीक्षाले दुईमा जित र दुई खेलमा हार बेहोर्दै अन्तिम १६ मा स्थान बनाएकी थिइन्।

प्रतीक्षाले फेन्सिङको ‘सोड' समातेको एक महिना मात्रै भएको छ। एक महिनाको समयमा पनि उनले राम्रोसँग प्रशिक्षण गर्न पाइनन् । त्यही समयमा परीक्षा चलेपछि थोरै समय मात्रै प्रशिक्षणलाई दिन पाइन्।

‘फेन्सिङ खेल्न थालेपछि विद्यालयमा परीक्षा सुरु भयो। त्यही कारण राम्रोसँग प्रशिक्षण पनि गर्न पाइनँ', प्रतीक्षा भन्छिन्, 'छोटो समयको तयारीले पनि राम्रो नतिजा ल्याउन सकेकोमा खुसी छु ।'

प्रतीक्षा खेलकुदमा लागेको तीन वर्षभन्दा बढी भइसकेको छ। फेन्सिङको ‘सोड' समात्नु अघि उनी तेक्वान्दो खेल्थिन्। उनले तेक्वान्दो खेल्न थालेको तीन वर्ष भइसक्यो। एब्सुलुट तेक्वान्दो डोजाङमा रेखमाया गुरुङ र छवि गुरुङबाट प्रशिक्षण लिँदै आएकी उनले केही प्रतियोगिताहरूमा पदक पनि जितेकी छन्।

कोरियन एम्बेस्डर तेक्वान्दो च्याम्पियनसिपमा जुनियरतर्फको पुम्सेमा स्वर्ण जितेकी उनले काठमाडौं इन्टरनेसनल भर्चुअल तेक्वान्दो च्याम्पियनसिपमा कास्य पदक जितेकी थिइन् । यस्तै स्थानीय स्तरमा आयोजना भएका अन्तर डोजाङ प्रतियोगिताहरूमा पनि उनले उत्कृष्ट प्रदर्शन गर्दै आएकी छन्। अन्नपूर्ण पोस्टमा विष्णु थापाले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्