०७ असार २०८३, आइतबार

दूधकोसी आयोजनाका लागि जग्गा अधिग्रहणमा

फागुन २३, २०७८
दूधकोसी आयोजनाका  लागि जग्गा अधिग्रहणमा
फाइल फोटो

नेपाल विद्युत् प्राधिकरण मातहत निर्माण गर्न लागिएको दूधकोसी जलाशययुक्त आयोजनाको जग्गा अधिग्रहणको काम अगाडि बढेको छ ।

जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले सोमबारदेखि लागू हुनेगरी चिसङ्खुगढी गाउँपालिकाका दुई हजार ४२१ कित्ता जग्गा अधिग्रहण गर्न आंशिक तथा पूर्ण रोक्का गरेको छ ।

आव २०७७/७८ को नीति तथा कार्यक्रममा सोही आर्थिक वर्षमा निर्माण थाल्ने भनिए पनि जग्गा अधिग्रहणका काम अझै सम्पन्न भइसकेको छैन । ६३५ मेगावाट क्षमताको जलाशययुक्त सो आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययनको काम इटलियन ठेकेदार कम्पनी ईएलसी इलेक्ट्रो कन्सल्टले गरिरहेको छ ।

सार्वजनिक सूचनाअनुसार चिसङ्खुगढी–१ को सबैभन्दा धेरै एक हजार १४९ कित्ता जग्गा रोक्कामा परेको छ । सो क्षेत्र साबिक कुइनेभीर गाविस हो ।

अधिग्रहणका लागि साबिक पोखरे गाविस पर्ने वडा नं. २ को २५३, वडा नं. ३ (साबिक दियाले गाविस)को ६०० कित्ता, वडा नं. ६ (साबिक भदौरे गाविस)को ३७१ र वडा नं. ७ (साबिक माम्खा गाविस)को ४८ कित्ता जग्गा अधिग्रहणका लागि रोक्का राखिएको हो । आयोजनाबाट तीन जिल्ला खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको तीन हजार ८७६ हेक्टर जमिन प्रभावित हुने आकलन छ ।

यसमध्ये जिल्ला प्रशासन कार्यालय खोटाङले रावाबेँसी र ऐँसेलुखर्क गाउँपालिकाका प्रभावित जग्गा अधिग्रहण प्रक्रिया सुरु भइसकेको छ ।

गत असार २२ गते सार्वजनिक सूचना जारी गरी अधिग्रहण प्रक्रिया सुरु गरेको थियो । कार्यालयले खोटाङको रावाबेँसी गाउँपालिकाका छवटा वडा र ऐँसेलुखर्क गाउँपालिकाका तीनवटा वडाअन्तर्गतका पूर्ण तथा आंशिक रोक्कामा पर्ने कित्ता र जग्गाधनीको विवरण सार्वजनिक गरेको थियो । अब सोलुखुम्बु जिल्लातर्फको जग्गा रोक्का गर्ने काम  बाँकी छ । गोरखापत्र दैनिकमा गोपालचन्द्र सुवेदीले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्