१४ असार २०८३, आइतबार

रुस र युक्रेनबीचको तनावको असर भान्सामा : खाने तेलको मूल्य बढ्यो

फागुन २३, २०७८
रुस र युक्रेनबीचको तनावको असर भान्सामा : खाने तेलको मूल्य बढ्यो

रुस र युक्रेन बीचको तनावले नेपालमा खाने तेलको मूल्य ह्वात्तै बढेको छ ।

स्थानीय बजारमा विशेष गरेर सन्फ्लावर (सूर्यमुखी) र सोयाबिन (भटमास) तेलको मूल्य पछिल्लो एक सातामा ह्वात्तै बढेको हो । अन्तर्राष्ट्रिय बजारमा तेलका लागि आवश्यक पर्ने कच्चा पदार्थको मूल्य बढेको कारण पनि तेल उद्योगीले मूल्य बढाएका हुन् ।

नेपाल खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्रकुमार बज्रचार्यले अहिले युद्धको असरले खाने तेलको कच्चा पदार्थका आपूर्तीमा अवरोध हुँदा अभाव भएकोले मूल्य बढेको बताए ।

उनले दैनिक रुपमा प्रयोग हुने खाने तेल त्यसमा पनि सन्फ्लावर तेल प्रतिलिटर २ सय ४० मा खुद्रा विक्रि गर्दै आएकोमा हाल २ सय ८० रुपैयाँसम्म पुगेको बताए ।

यस्तै, सोयाबिन तेल प्रतिलिटर २ सय ३० मा विक्रि गर्दै आएकोमा २ सय ७० रुपैयाँसम्म पुगेको बताए । उनले मूल्य बढेपनि सरकारी निकायहरुले अनुगमनमा चासो नदेखाएको गुनासो गरे ।

उनले रुसले युक्रेनमाथि आक्रमण गर्नु पूर्व नै दाल, चामल लगायत सबै खाद्यान्नको १० प्रतिशतको दरले मूल्यवद्धि भइ सकेको समेत बताए ।

संघका पूर्वअध्यक्ष बज्रचार्यले हाल खाने तेल लगायत खाद्यान्नमा भएको मूल्यवृद्धिको समस्या समाधान गर्न सरकारका निकायले छलफल अगाडी बढाउन आवश्यक रहेको पनि औंलाए । उनले हालको अवस्थालाई सहज बनाउन व्यापारी, उद्योगी, व्यवसायी लगायत सबै सम्बन्धीत निकायसँग तत्काल छलफल अगाडी नबढाए मूल्य थप चुलिँदै जाने बताए ।

रुसले युक्रेनमाथि आक्रमण गरेसँगै बजारमा खाने तेल अभाव हुने भन्दै व्यापारीहरुले बजारमा कृत्रिम अभाव सृजना गराएको, मूल्यवृद्धि गरेको उपभोक्ताको आरोप छ ।

नेपालले युक्रेन, रसिया र अर्जेन्टिनाबाट कच्चा तेल आयात गरी रिफाइन गरेर नेपाली बजार र भारतमा निर्यात गर्दै आएको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो ७ महिनामा युक्रेनबाट ९ अर्ब ५१ करोड ६३ लाख रुपैयाँको कच्चा तेल आयात भएको छ ।  यस्तै रसियाबाट २ अर्ब ५८ करोड ७५ लाख  र अर्जेन्टिनाबाट २६ करोड ५१ लाख रुपैयाँ बराबरको आयात भएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्