
औषधिजन्य प्रयोगका लागि गाँजाखेती खुला गर्न सरकार कानून निर्माणमा जुटेको छ । गाँजाको प्रयोग, उत्पादन, नियमन र व्यवस्थापनका लागि सरकारले कानूनी व्यवस्था गर्न लागेको हो ।
परम्परादेखि औषधिको रूपमा प्रयोग गर्दै आएको गाँजा हाल नेपालमा लागूऔषधका रूपमा प्रतिबन्धित छ ।
विश्वका प्राय देशमा नियन्त्रित रूपमा उत्पादन र प्रयोग हुँदै आएको अवस्थामा नेपालमा पनि गाँजाखेतीलाई व्यवस्थित गर्नका लागि विधेयक संसद्मा लैजाने तयारी भएको हो ।
गृह मन्त्रालयको लागूऔषध नियन्त्रण शाखाका उपसचिव गोकर्ण उपाध्यायका अनुसार फागुन ११ गतेको मन्त्रिपरिषद्ले विधेयक निर्माणका लागि स्वीकृति दिएको थियो ।
त्यसपछि गृहले विधेयकको मस्यौदा तयार पारी स्वीकृतिका लागि कानून मन्त्रालयमा पठाएको छ ।
‘मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ । कानून मन्त्रालयमा स्वीकृतिका लागि पठाएका छौं,’ उपसचिव उपाध्यायले लोकान्तरसँग भने, ‘त्यहाँबाट स्वीकृत भएर आएपछि संसद्मा लैजान्छौं ।’
यसअघि एमाले सांसद शेरबहादुर तामाङले गाँजाका सम्बन्धमा गैरसरकारी विधेयक संसदमा लगेका थिए । अहिले आएर सरकारले नै गाँजालाई औषधिका लागि खुला गर्ने तयारी गरेको हो ।
उपाध्यायका अनुसार गाँजाको उत्पादन कसले र कसरी गर्ने, त्यसको लेबलिङ कस्तो हुने, ढुवानीको व्यवस्था लगायतका विषय समेटेर कानून, नियमावली र निर्देशिका निर्माण हुनेछ ।
प्राकृतिक सन्तुलन कायम गर्न उल्लेख्य योगदान गर्ने, कपडा, अचार लगायतका मानवको दैनिक जीवनमा प्रयोग हुने र औषधि बनाउन प्रयोग हुने भएकाले गाँजालाई सरकारी तवरबाट नै नियमन र व्यवस्थापन गर्नका लागि कानून बनाउन लागेको उपाध्यायले बताए ।
पहिले निर्यात हुन्थ्यो गाँजा
विक्रम संवत् २०२१ सालसम्म गाँजाको खुला प्रयोग, उत्पादन र विदेश निर्यात हुने गरेको थियो । त्यतिबेला गाँजा निर्यात गरेर मासिक १ लाख डलरसम्म (तत्कालीन समयमा) आम्दानी हुने गरेको सरकारी अधिकारीहरू बताउँछन् ।
अहिले पनि गाँजाखेती गरेर विदेश निर्यात गर्न सकिने सरकारको बुझाइ छ । साथै औषधि निर्माणका लागि पनि गाँजाको माग अत्यधिक छ ।
मन्त्रालयका अनुसार अहिले विश्वका ६० देशमा औषधिजन्य प्रयोगका लागि गाँजाखेती खुला गरिएको छ । कतिपय देशमा मनोरञ्जनका लागि पनि गाँजाको प्रयोग खुला छ ।
नेपालसँग सीमा जोडिएका भारतीय राज्यहरूमा पनि गाँजा औषधिका रूपमा प्रयोग गर्न पाइन्छ ।
‘नेपाल–भारत खुला सिमाना छ । नेपालसँग सिमाना जोडिएका राज्यहरूमा औषधीजन्य प्रयोगका लागि खेती खुल्ला गरिएको छ, त्यसले नेपालमा पनि असर गर्छ, सोही कारण पनि कानून आवश्यक छ,’ उपसचिव उपाध्यायले भने ।
मन्त्रालयमा अहिलेसम्म वनस्पति विभाग, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र काठमाडौं विश्वविद्यालयले अनुसन्धान र औषधिजन्य प्रयोगका लागि गाँजा उत्पादनको अनुमति माग गरेका छन् ।
२ वर्षमा १३ हजार केजी गाँजा बरामद
हालसम्म सरकारले गाँजालाई प्रतिबन्धित लागूऔषधको सूचीमा राखेको छ । तर पनि भारतबाट नेपाल र नेपालबाट भारततर्फ गाँजाको तस्करी हुँदै आएको छ ।
नेपालमा पनि एक ठाउँबाट अर्को ठाउँका गाँजाको ओसारपसार हुँदै आएको छ ।
पछिल्लो २ वर्षमा प्रहरीले १३ हजार १३५ केजी गाँजा बरामद गरेको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ । आर्थिक वर्ष २०७७/०७८ मा ८ हजार २३५ केजी गाँजा बरामद भएको थियो ।
यो आर्थिक वर्षको ७ महिनामा ४ हजार ९ सय केजी गाँजा बरामद भएको छ ।
यस्तै २ वर्षमा गाँजाजन्य पदार्थ चरेस ९ सय ११ केजी बरामद भएको छ ।
अघिल्लो आर्थिक वर्षमा ५११ केजी र यो आर्थिक वर्षको ७ महिनामा ४ सय केजी चरेस बरामद गरेको प्रहरीको तथ्यांक छ ।