
रुसले बेलारुसमा राखेको एस–४०० प्रतिरक्षा प्रणालीबाट युक्रेनी वायुसेनाको सु–२७ लडाकू विमान खसाएको छ ।
१५० किलोमिटर टाढाबाट सटीक निशाना लगाएर विमान खसाउँदै रुसले कीर्तिमान कायम गरेको छ ।
युक्रेनी विमानलाई कर्नेल ओलक्सान्दर ओक्सानचेन्कोले उडाइरहेका थिए । उनले एयरशोमा अद्भुत प्रस्तुति दिएर युक्रेनीहरूको मन जितेका थिए ।
रुसी आक्रमणमा परी ओक्सानचेन्कोको मृत्यु भएको छ । उनलाई युक्रेनको नायकको उपाधि मरणोपरान्त दिइएको छ ।
युद्धभूमिमा एस–४०० पहिलोपटक उपयोग गरिएको हो । घटना गत फेब्रुअरी २५ मा भएको बताइएको छ ।
एस–४०० ले ४०० किलोमिटरको दायरामा प्रहार गर्न सक्छ । त्यसैले बेलारुसको भूमिबाट युक्रेनमा उसले गरेको प्रहार क्षमताको आधाभन्दा कम हो । उक्त प्रणालीले युक्रेनका अन्य स्थानमा पनि प्रहार गरेको बताइएको छ ।
रुसीहरूले एस–४०० युद्धको पहिलो दुई दिन मात्र उपयोग गरेका थिए । । पछि अन्य वायु प्रतिरक्षा प्रणालीहरूको उपयोग गरिन थालेको थियो ।
रुसी सेनाले वास्तविक युद्धमा त्यसको परीक्षण गरेको हुनसक्ने प्रबल सम्भावना छ ।