महेन्द्रनगर, २१ असार– नेपाली कांग्रेसको गढ मानिने कञ्चनपुरको बेलौरी नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।
बेलौरीको मेयरमा नेकपा माओवादी केन्द्रका पोतीलाल चौधरी ६७६४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका पल्लबराज भट्टले ६४०७ मत ल्याए ।
यसअघि २०७० मंसिरमा भएको दोस्रो संविधान सभा चुनावमा बेलौरी नगरपालिका रहेको कञ्चनपुर क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए । बेलौरी नगरपालिकालाई नेपाली कांग्रेले आफ्नो बलियो गढ मान्दै आएको थियो । माओवादीले अध्यक्ष प्रचण्डकी बुहारी बिना मगरलाई उक्त क्षेत्रको इञ्चार्जको जिम्मा दिइएको थियो ।
माओवादी केन्द्रका नेताहरुले बिनाको सक्रियताकै कारण जीत सम्भव भएको बताएका छन् । यस्तै माओवादी अध्यक्ष प्रचण्ड पनि चुनावी सभालाई सम्बोधन गर्न बेलौरी पुगेका थिए । सोही क्षेत्रमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले आफ्नो पार्टीले चुनाव जिते बेलौरीमा लोडसेडिङ नहुने प्रतिबद्धता समेत जनाएका थिए ।
बेलौरीको उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार चित्रकुमारी चौधरी ६७४८ मत ल्याएर विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी राधादेवी खरेल (कंडेल)ले ६१२१ मत प्राप्त गरिन् ।
बेलौरीमा तेस्रो शक्ति बन्न पुगेको नेपाली कांग्रेसका मेयरका उम्मेदवार हरेन्द्रसिंह बिष्टले ५४१२ मत ल्याए भने उपमेयरकी उम्मेदवार खिना भण्डारीले ५६२७ मत प्राप्त गरिन् ।