२५ असार २०८३, बिहीबार

चुनावमा होमियो एकीकृत समाजवादी, केन्द्रीय समिति बैठक आह्वान

फागुन २३, २०७८
चुनावमा होमियो एकीकृत समाजवादी, केन्द्रीय समिति बैठक आह्वान

नेकपा एकीकृत समाजवादी पार्टी आगामी वैशाखमा तय भएको स्थानीय तह निर्वाचनमा होमिएको छ । सोमबार बसेको पोलिटब्युरो बैठकले पार्टीका सम्पूर्ण शक्ति चुनावमा होमिने निर्णय गरेको हो । 
बैठकपछि महासचिव वेदुराम भुसालले जारी गरेको विज्ञप्तिमा पार्टीको सम्पूर्ण शक्तिलाई उत्साहका साथ क्रियाशील हुन, आफूहरुले प्राप्त गरेका उपलब्धिहरूमाथि गौरव गर्न र सम्पूर्ण पार्टी पङ्क्तिलाई आसन्न स्थानीय तहको निर्वाचनमा परिचालित हुन आह्वान गरिएको उल्लेख छ । 
 
अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा सम्पन्न बैठकमा नेपालले पार्टी पुनर्गठनदेखि हालसम्मका संगठनात्मक कामहरुको समीक्षा, वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिको विश्लेषण र आगामी कार्ययोजना समेटिएको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

प्रतिवेदनमा नेपालले राजनीतिक परिस्थितिको बारेमा चर्चा गर्दै पार्टीले आगामी निर्वाचनमा राम्रो सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे । यस्तै उनले संसदले व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गर्दा पार्टीले राख्दै आएको अडान नै राष्ट्रिय अडानको रुपमा परिणत भएको उल्लेख गरे । ‘हाम्रो पार्टी न कसैसँग झुक्छ, न कुनै कुरामा बहकिन्छ, जहिले पनि देशको हितलाई केन्द्रबिन्दूमा राखेर काम गर्छ । एमसीसी सम्झौतालाई संसदबाट अनुमोदन गर्दा हामीले आफ्नो मान्यताबाट डगमगाएका छैनौं । बरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलाई मध्यनजर गर्दै सुझबुझपूर्ण निर्णय गरेका छौं’ नेपालको भनाइ थियो । 

आजको बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि गम्भीर छलफल भएको सो पार्टीले जनाएको छ ।  छलफलमा पोलिटब्युरोका ३७ जना सदस्यहरुले आफ्ना धारणाहरू व्यक्त गरेको भुसालले जानकारी दिए । उनीहरुले राखेका विचार तथा सुझावहरूलाई समेटेर परिमार्जित प्रतिवेदन केन्द्रीय कमिटीमा प्रस्तुत गरिने जनाइएको छ ।  केन्द्रीय कमिटीको तेस्रो बैठक यही फागुन २५ र २६ गते कार्की बेङक्वेट बबरमहल, काठमाडौंमा बस्ने भुसालले जानकारी दिए । 


 

salt training

कमेन्ट गर्नुहोस्