काठमाडौँ, २२ असार- अप्रेसनका क्रममा विनाअनुमति मिर्गौला निकालेको भन्दै मनमोहन मेमोरियल मेडिकल कलेजविरुद्धको उजुरी जिल्ला प्रशासन कार्यालयले दर्ता गराउन नमानेको पीडित पक्षले गुनासो गरेको छ ।
२५ जेठमा पत्थरीको अप्रेसन गर्ने क्रममा मनमोहन मेडिकल कलेजले नुवाकोट विदुर नगपालिका– १२ का ३२ वर्षीय शिवप्रसाद रिमालको मिर्गौला निकालेको थियो, नयाँ पत्रिकामा खबर छ ।

न्यायको माग गर्दै उजुरी दिन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगे पनि प्रशासनले दर्ता गराउन नमानेको रिमालले बताए । उनले भने, ‘करिब २ घन्टा जिल्ला प्रशासन कार्यालयमा बस्यौँ । तर, प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले कुरा सुन्नै चाहनुभएन । यसले हामीलाई थप दुःखी तुल्याएको छ ।’
कुरा गर्न खोज्दा आफूलाई सबै विषय जानकारी भएको भन्दै पन्थीले अर्को दिन आउन भनेको रिमालले बताए ।