काठमाडौँ, २२ असार- देशका २५० स्थानीय तहमा ‘क’ वर्गको वाणिज्य बैंकका शाखा खुल्ने भएका छन् । हालसम्म वाणिज्य बैंक नपुगेका ४१२ तहमध्ये २५० तहमा तत्काल शाखा खोल्न बैंकहरू तयार भएका हुन्, नयाँ पत्रिकामा खबर छ ।
७४४ स्थानीय तहमध्ये हालसम्म ३३२ तहमा मात्रै ‘क’ वर्गका बैंक छन् । नयाँ शाखा खोल्दासमेत १६२ स्थानीय तह भने वाणिज्य बैंकका शाखाविहीन हुनेछन् ।
नेपाल बैंकर्स संघले ४६ नगरपालिका र २०४ गाउँपालिकामा वाणिज्य बैंकका शाखा खोल्न नेपाल राष्ट्र बैंकलाई प्रस्ताव गरेको हो । बैंकिङ सुविधा नपुगेका सातवटै प्रदेशका २५० स्थानीय तहमा ‘क’ वर्गका बैंकको शाखा थप्नका लागि प्रस्ताव गरिएको संघका अध्यक्ष अनिलकेशरी शाहले बताए । ‘स्थानीय सरकारलाई वित्तीय क्षेत्रबाट सहयोग पुर्याउने गरी शाखा खोल्न हामी तयार भएका छौँ,’ उनले भने, ‘नयाँ शाखा खुलेपछि ६ सय स्थानीय तहमा बैंक पुग्नेछ र मुलुकका ८० प्रतिशत जनतामा बैंकिङ पहुँच पुग्नेछ ।’