
पश्चिम बागलुङका नागरिकलाई सहजताका लागि बुर्तिबाङमा स्थापना गरिएको मालपोत कार्यालयमा कर्मचारी नहुँदा सेवा ग्राहीले सास्ती भोग्नुपरेको छ । अहिले कार्यालय एक सुब्बाको भरमा चलेको छ ।
बुधवार मात्रै एक जना सुब्बा थपिएका छन् । कार्यालय प्रमुख दिलबहादुर केसी फागुन ३ गते जिल्ला कारागार बागलुङमा सरुवा भएपछि झन् कर्मचारी अभावमा काम गर्न निकै समस्या भएको हो ।
१३ कर्मचारको दरबन्दी रहेको यस कार्यालयमा अहिले २ सुब्बा, ३ कार्यालय सहयोगी र २ कम्युटर अपरेटरका भरमा कार्यालय सञ्चालन गर्नुपरेको नायब सुब्बा कासीराम खड्काले बताए ।
उनँले अहिले १ नायब सुब्बा आएपछि केही सहज भएको बताए । उनले केही समय आफू एक्लै काम गर्दा प्रभावकारी सेवा प्रदान गर्न समस्या भएको बताए ।
हाल कार्यरत २ कम्प्युटर अपरेटर करारका हुन् । स्थायी कर्मचारी भने छैनन् । ३ कार्यालय सहयोगीमध्ये १ मात्रै स्थायी हुन् । कार्यालयमा १ अधिकृत, ३ खरिदार, ३ नासु र १ लेखा अधिकृतको पद खाली रहेको उनको भनाइ छ ।
मालपोत कार्यालयमा दैनिक २०/२५ जनासम्म सेवाग्राही आउने गर्छन् । गाउँगाउँबाट आएका नागरिक समयमा काम नसकिएर ३–४ दिनसम्म बजारमा बस्नुपर्ने बाध्यता रहेको खड्काले बताए । उनले कर्मचारी नहुँदा यो अवस्था सिर्जना भएको जानकारी दिए ।