२२ जेठ २०८३, शुक्रबार

उच्चस्तरीय भ्रमणको पहल गर्दै परराष्ट्र मन्त्रालय

फागुन २६, २०७८
उच्चस्तरीय भ्रमणको पहल गर्दै परराष्ट्र मन्त्रालय

परराष्ट्र मन्त्रालयले आफ्ना मित्रराष्ट्रसँगको उच्चस्तरीय भ्रमण आदानप्रदानलाई निरन्तरता दिन पहल शुरू गरेको छ । 

कोभिड–१९ महामारीको तेस्रो लहरको जोखिम कम हुँदै गएकाले मन्त्रालयले पहिले तयारी गरिएका तथा स्थगन भएका २ पक्षीय मैत्रीपूर्ण भ्रमणको कार्यदिशालाई तीव्र बनाएको मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताइन् ।

उच्चस्तरीय भ्रमणको आदानप्रदानका लागि प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का सहितको टोली छिट्टै हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)मा सहभागी हुन जाँदैछ । मंगलवार मात्र टर्कीका आफ्ना समकक्षीको निमन्त्रणामा उच्चस्तरीय भ्रमणको नेतृत्व गर्दै परराष्ट्रमन्त्री खड्का टर्की प्रस्थान गरेका छन् ।

कूटनीतिक फोरममा सहभागी हुन गए पनि त्यहाँ विभिन्न मुलुकका आफ्ना समकक्षीलाई उच्चस्तरीय भ्रमणका लागि समेत निमन्त्रणा दिनेछन् । साथै छिमेकी मुलुक चीन र भारत लगायतका मुलुकका उच्च नेतृत्वको नेपाल भ्रमणका लागि पनि मन्त्रालयले प्रक्रिया जारी राखेको छ । सोही क्रममा चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका लागि मन्त्रालयले तयारी गरिरहेको छ ।

प्रवक्ता लम्सालका अनुसार उनको भ्रमणका लागि मन्त्रालयले गर्नुपर्ने प्रक्रियागत विषयमा गृहकार्य गरिरहेको छ तर भ्रमण नै तय भइसकेको भने छैन । उनले भनिन्, ‘बाहिर हल्ला चले जस्तो त्यही मितिमा उहाँको नेपाल भ्रमण हुने वा नहुने विषय कुनै पनि निर्णय भइसकेको छैन ।’

सरकारले उच्चस्तरीय भ्रमणको विषयमा निर्णय गरेर मिति तय गरेपछि मात्र चीन वा अन्य मुलुकका उच्च नेतृत्वको भ्रमणबारेमा मन्त्रालयले स्पष्ट जानकारी दिने उनले बताइन् । उच्चस्तरीय भ्रमण आदानप्रदानकै सुरुवाती क्रममा फ्रान्सेली प्रतिनिधिमण्डल यतिबेला नेपाल भ्रमणमा रहेको छ । सो प्रतिनिधिमण्डलले बुधवार प्रधानमन्त्री देउवा लगायतका अन्य दलका उच्चस्तरीय नेतृत्वसँग भेटवार्ता गरेको छ ।

केही दिनअघि परराष्ट्रमन्त्री डा.नारायण खड्काले पत्रकार सम्मेलनमा मित्रराष्ट्र मुलुकबाट उच्चस्तरीय भ्रमण हुने छनक दिएका थिए तर उनले कुन–कुन मुलुकबाट उच्चस्तरीय भ्रमण हुने भन्नेबारेमा खुलाएका थिएनन् । विगत ३ वर्षयता जारी कोभिड महामारीका कारण कूटनीतिक क्षेत्रको रफ्तार कम भएको थियो ।

थलिएको कूटनीतिक सम्बन्ध सुधार गर्नका लागि मन्त्रालयले खरायोको गतिमा आफ्ना कदम अघि बढाउन गृहकार्यलाई बढावा दिएको जनाएको छ ।

कूटनीतिक सम्बन्धकै आधारमा विश्वमा नेपालको छवि बढ्ने भएकाले पनि मैत्रीपूर्ण उच्चस्तरीय भ्रमणको महत्त्वपूर्ण भूमिका हुन्छ । कुनै पनि देशले एक्लै विकास र समृद्धिको चाहना पूरा गर्न सक्दैन । त्यसका लागि विदेशी अर्थ, प्रविधि, सहमति र साझेदारी चाहिन्छ ।

कोभिडले थलिएको अर्थतन्त्र उकास्न पनि उच्चस्तरीय भ्रमणले सघाउने अपेक्षा मन्त्रालयले गरेको छ । अब हुने त्यस्ता भ्रमणले नेपालमा लगानीको वातावरण सिर्जना गर्दै नेपालको आर्थिक तरलताको अवस्थामा पनि सुधार आउन सक्ने विश्वास कूटनीतिज्ञहरूले गरेका छन् । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्