
काठमाडौं, २२ असार – चलचित्रले बालबालिकाको मनोविज्ञानमा कस्तो असर पार्ला ? के फिल्मको माध्यमबाट बच्चालाई दिइने ज्ञानले उनीहरुको सचेतनालाई प्रभाव पार्ला ? सामाजिक सन्देशमाथि बनेका सिनेमालाई आजभोलि विद्यालयले पनि बडो चासोका साथ देखाउने गर्छन् । किनकि, प्रोत्साहनका लागि सिनेमा उपयुक्त माध्यम पनि हो ।
बुधवार काठमाडौंको पिङ्गलास्थानस्थित माइती नेपालको टेरेसा एकेडेमीको हलमा चलचित्र ‘कारखाना’ प्रदर्शन गर्दा सानादेखि ठूला सबै विद्यार्थीले बेलाबेलामा पररर ताली पिटिरहेका हुन्थे । उनीहरुको ध्यान सिनेमाभन्दा बाहिर जान सकेको थिएन । माइती नेपालमा अध्ययनरत कक्षा पाँचदेखि दशसम्मका विद्यार्थीले खुबै ध्यान दिएर सिनेमा हेर्दै थिए ।
सरोगेसी (भाडामा बच्चा जन्माउने आमा) को कथामा आधारित चलचित्र ‘कारखाना’ सन्देशमूलक पनि छ । दुई सय विद्यार्थी र माइती नेपालमा कार्यरत केही कर्मचारी गरी लगभग दुई सय पचासले सिनेमा हेर्दा सबैको ध्यान सिनेमाको विषयवस्तुमा केन्द्रित थियो ।
माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले यस्ता सिनेमा हेर्दा बालबालिकाको चेतनास्तर वृद्धि हुने बताइन् । ‘यसरी सिनेमा देखाउनु पनि हामीप्रतिको सहयोग हो, सहयोगका लागि धन्यवाद ।’ उनले भनिन्, ‘बच्चाहरु हिंसाप्रति सचेत पनि भए, मनोरञ्जन पनि लिए ।’

निर्माता सुदीप खड्काले आफूले सिनेमाको माध्यमबाट सन्देश पुर्याउन पाएकोमा खुशी व्यक्त गरे । ‘फिल्मले राम्रो व्यापार गरोस् या नगरोस्, त्यो अर्को कुरा भयो तर सिनेमा प्रदर्शन गर्दा धेरै खुशी लाग्यो ।’ खड्काले थपे, ‘यी साना बच्चाहरुको खुशी देख्दा फिल्म बनाएकोमा खुशी लाग्यो ।’
सिनेमा हेरिसकेपछि खुशीका साथ हलबाट बाहिरिँदै गरेका विद्याथीलाई इंगित गर्दै सुदीपले सुनाए ।
हिंसाविरुद्धको जीत हुँदा बीचबीचमा ताली पिटिरहेका विद्यार्थीले आफूलाई सिनेमा राम्रो भएको बताए । साथै यस्तो राम्रो सिनेमा प्रदर्शन गरेकोमा विद्यार्थीले निर्मातालाई धन्यवाद पनि दिइरहेका थिए ।
आफूलाई थाहा नभएका कुरालाई फिल्ममार्फत बुझ्न पाएकोमा विद्यार्थीले खुशी व्यक्त गरिरहेका थिए । माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला भन्दै थिइन्, ‘बच्चाहरुले यस्ता फिल्म फेरि पनि हेर्न पाऊन् ।’
संस्थाकी प्रिन्सिपल फ्लोरा गुरुङ पनि आफूले चलचित्र ‘कारखाना’ बाट राम्रो सन्देश पाएकोमा खुशी लागेको बताइन् । यस्ता चलचित्र बसपार्क, गाउँघर तथा अन्य स्थानमा पनि प्रदर्शन गर्ने हो भने सिनेमाको माध्यमबाट सन्देश दिन सकिने तर्क राख्छिन् फ्लोरा ।
‘यस्ता खालका सिनेमाले बच्चामा सचेतता ल्याउँछ, हलमै चलेको सिनेमा यसरी प्रदर्शन गरिएको यो पहिलो हो ।’ फ्लोराले खुशी व्यक्त गर्दै भनिन्, ‘नेपालमा यस्ता घटना हुने गरेपनि बच्चाहरु यसबारेमा अनभिज्ञ हुन सक्छन्, यहाँका बच्चामध्ये कसैलाई थाहा भएपनि अन्य बच्चालाई थाहा नहुन सक्छ ।’

निर्माता सुदीप खड्काले चलचित्रलाई धेरैले मजदुरले काम गर्ने कारखाना बुझेको बताए । ‘चलचित्रको शीर्षकले दर्शक झुक्किनुभएको जस्तो पनि लागिरहेको छ । हामीले जतिमाझ सन्देश पु¥याउन खोजिरहेका थियौं, त्यो समूहमाझ अझै पुग्न सकेका छैनौं ।’ उनी भन्छन्, ‘हामीले जुन म्यासेज लिएर सिनेमा बनायौं, त्यसको हुनुपर्ने जति चर्चा भएन ।’
फिल्मले भाडामा बच्चा जन्माउने आमाको कथालाई केन्द्र बनाए पनि चलचित्रलाई धेरैले मजदुरको कथा बुझेको सुदीपले बताए । उनले भने, ‘फिल्मले गतिलो म्यासेज दिएको छ । हेरेका दर्शकले चलचित्रले मन छोएको सुनाउनुहुन्छ ।’