
कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले कर्णालीका सबै गाउँगाउँमा पानीको शुद्धता मापन गर्ने उपकरण स्थापना गर्ने भएको छ ।
१० जिल्लाबाट आएका प्रतिनिधिलाई तालिम दिएर पानी शुद्धता मापन गर्ने (किट बक्स) उपकरणसहित पठाएको छ ।
विज्ञ सहितको टोलीले २४ फगुनदेखि फागुन २६ गतेसम्म तालिम दिएर तालिमप्राप्त कर्मचारी जिल्लामा पठाएको हो । १० कर्मचारीलाई तालिमपछि सबै पालिकामा काम गर्ने गरी पठाएको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले बताए ।
तालिममा सिकेको सीप अधिकतमरूपमा प्रयोग गरिने सहभागीले बताएका छन् । प्रत्येक जिल्लामा एकवटा पर्ने गरी पानीको शुद्धता मापन मेसिन पठाएको छ । प्रत्येक मशिनलाई २ लाख ९० हजारमा खरिद गरी १० मशिन जिल्लामा वितरण गरिएको मन्त्री सिंह बताए ।
कर्णालीका सबै पालिकामा माग भए अनुसारको ठाउँमा गएर पानीको शुद्धता मापन गर्ने अभियान शुरू भएको छ ।
फोहर पानी पिउँदा धेरैलाई पानीजन्य रोग देखापरेको रिपोर्टका आधारमा पानी परीक्षणको काम शुरू गरिएको मन्त्री सिंहले बताए ।