नेपालमा चिया खेतीको इतिहास डेढ शताब्दी पुरानो छ ।
यो नेपालको मात्रै होइन, दक्षिण एसियाकै पुरानो पनि हो । यहाँको चिया बगान र कारखानालाई ऐतिहासिक सम्पदाकै रूपमा संरक्षण गर्नुपर्ने र विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्नुपर्ने माग हुँदै आएको छ तर सम्बद्ध निकाय र सरोकारवालाको ध्यान त्यसतर्फ गएको छैन ।
वि.सं. १९२० मा चिया रोपेर बनेको इलाम चिया बगानलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन सकिने पर्याप्त आधार भएकाले त्यसको प्रयास गरिनुपर्ने स्थानीय र विज्ञहरूले माग गर्दै आएका छन् ।
दक्षिण एसियामै एक मात्र १५८ वर्ष पुरानो रहेको यो चिया बगानलाई सूचीकृत गराउन पहल गर्नुपर्ने खाँचो बारम्बार औँल्याइँदै आएको छ ।
नगरपालिकालाई दिन माग नेपाल सरकारको स्वामित्वमा रहेको इलाम चिया बगान अहिले निजी क्षेत्रले सञ्चालन गरिरहेको छ ।
ऐतिहासिक महत्वको यो बगानको संरक्षण गर्नुपर्ने भएकाले आफूलाई दिन इलाम नगरपालिकाले आग्रह गरिरहेको छ ।
२०७४ सालमा स्थानीय निर्वाचनपछि लगत्तै नगर कार्यपालिकाको बैठकले निजीकरण फिर्ता गर्नुपर्ने प्रस्ताव पारित गरेको थियो र यसलाई कार्यान्वयन गर्न पटक–पटक माग गर्दै आएको छ ।
पछिल्लो पटक नगर कार्यपालिकाको दसौँ बैठकले पनि इलाम चिया बगान निजीकरण फिर्ता गरी संरक्षणका लागि स्थानीय सरकारलाई हस्तान्तरण गर्न अनुरोध गरेको छ । गोरखापत्र दैनिकमा कोकिला ढकालले खबर लेखेकी छन्।