
जनकपुर-ढल्केवर ६ लेन सडक आयोजनाअन्तर्गत मुजेलियामा जनकपुरधाम उपमहानगरपालिकाले निर्माण गरेको शहीदद्वार शुक्रवार साँझबाट प्रयोगमा आएको छ ।
उपमहानगरपालिकाको करीब साढे चार करोडको लागतमा निर्माण गरिएको शहीदद्वार जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले उद्घाटन गरे ।
धनुष आकारको शहीदद्वारको माथिल्लो भागमा भगवान् श्रीरामले धनुषमा ताँदो चढाएको आकर्षक मूर्तिका साथै मधेश आन्दोलनका क्रममा शहादत भएका शहीद नितु यादव, सञ्जय चौधरी र दिलीप यादवको अर्धकदको शालिक राखिएको छ ।

ती शहीदको सामूहिक दाहसंस्कार सोही ठाउँमा गरिएको थियो । यसै गरी उक्त आन्दोलनका क्रममा शहादत भएका अन्य ११६ मधेशी शहीदको नाउँ पनि शिलापत्रमा कोरिएको छ ।
निकै भव्य र आकर्षक स्वरुपमा निर्माण शहीदद्वार निर्माण भएको छ । जनकपुरधामको गरिमालाई झल्काउने उक्त द्वारको सोही दिन साँझ धार्मिक अनुष्ठान पनि गरिएको थियो ।