
हुम्लाको सदरमुकाम सिमकोट बजार क्षेत्रको विभिन्न चोक तथा ढलको सरसफाइ एक विदेशी नागरिकले गरेका छन् ।
बजार क्षेत्रमा मुख्य चोक, एयरपोर्ट चोक, तीनधारा, कालिञ्चोक र लोकतान्त्रिक चोकलाई घुम्न आएका स्पेनी नागरिक कार्लेस मार्टी सोबिराले सफाइ गरेका हुन् ।
उनले भने, ‘यति सुन्दर स्थानमा फोहोरले दुर्गन्धित हुँदा नरमाइलो लाग्यो । यसैले सरसफाइमा जुटेको हुँ ।’
उनले तीनधारामा ढुंगा किनेर बिछ्याउने कार्य समेत गरेका थिए ।
उनले ३ दिन लगाएर सरसफाइ गरे । सफाइ गर्ने औजार पनि उनी आफैंले किनेका थिए । तीनधारामा भने उनलाई ३ जना अन्य स्थानीयले सहयोग गरेका थिए ।
सोबिरालाई हर्कसिंह भण्डारी र खेम निरौलाले पनि सहयोग गरेका थिए । सिमकोट गाउँपालिकाले फोहर व्यवस्थापनका लागि बजेट समेत छुट्याएर कर्मचारीसमेत राखेको छ तर बजार क्षेत्र सधैं दुर्गन्धित देखिन्छ । ढलको पानी बाटोमा बगेर जाँदा दुर्गन्धित बनेको हो ।