
युक्रेनको पश्चिमी शहर लभिभ युद्धको चपेटामा खासै नपरेको भए पनि आइतवार बिहान त्यहाँ विस्फोटका आवाजहरू सुनिएका छन् ।
स्थानीय समयअनुसार बिहान ६ बजे पोल्यान्ड सीमा नजिक रहेको लभिभको बाहिरी भागमा विस्फोट सुनिएको हो ।
लगातार तेस्रो रात लभिभवासीहरू एयर रेड साइरनको आवाजले उठेका थिए । तर आइतवार साइरनपछि विस्फोटको पनि आवाज सुनिएको हो ।
कीभ इन्डिपेन्डेन्ट पत्रिकाले लभिभ रुसको क्षेप्यास्त्र आक्रमणमा परेको अनि शहरबाट ४० किलोमिटर टाढा रहेको सैन्य तालिम केन्द्रमा बम प्रहार गरिएको खबर दिएको छ ।
सामाजिक सञ्जालमा अप्लोड गरिएका तस्वीरहरूमा याभोरिभ सैन्य तालिम केन्द्रको भूमिमा धूवाँ उडेको देखिन्छ ।
रुसले युक्रेनको पश्चिम भागमा पनि आक्रमण बढाएको यसबाट पुष्टि हुन्छ ।
हजारौं शरणार्थीहरू लभिभको बाटो भएर युक्रेनका छिमेकी मुलुकहरूतर्फ पलायन भइरहेका छन् ।