१७ असार २०८३, बुधबार

चैत ८ देखि आफैं भाडा बढाउने यातायात व्यवसायीको चेतावनी

फागुन २९, २०७८
चैत ८ देखि आफैं भाडा बढाउने यातायात व्यवसायीको चेतावनी
फाइल तस्वीर।

यातायात व्यवसायीले चैत ७ सम्म सरकारबाट यातायातको भाडा समायोजन नगरे एकतर्फी भाडा बढाउने चेतावनी दिएका छन् । 

पेट्रोलियम पदार्थमा पटक–पटक मूल्यवृद्धि हुँदा पनि गत असार २७ गते समायोजन गरिएको भाडा अहिलेसम्म यथावत् रहेको जनाउँदै व्यवसायीले तत्काल भाडा समायोजन गर्न सरकारसँग माग गरेका हुन् । 

विगतमा डिजेलको मूल्य १०४ हुँदा समायोजन भएको भाडा अहिले १३३ पुग्दासमेत यथावत् हुनु विडम्बना भएको व्यवसायीको गुनासो थियो । बजारका हरेक वस्तुको मूल्य आकासिँदै गएको समयमा वैज्ञानिक भाडा समायोजन आजको आवश्यकता भएको उनीहरूको  भनाइ थियो । 

आइतवार पत्रकार सम्मेलन गरी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले वैज्ञानिकरुपले भाडादर समायोजन गर्नाका लागि सरकारसँग माग गरे । उनले ७ गतेसम्म भाडा समायोजन नभए बाध्य भएर व्यवसायी आफैंले समायोजन गर्ने चेतावनी पनि दिए । 

व्यवसायीका अनुसार हाल तय भएको वैज्ञानिक भाडा प्रणालीअनुसार इन्धनको ३५ प्रतिशत सूचकलाई आधार मान्दा सार्वजनिक बसको लागत ९.०३, ट्रक (पहाड) को ११.८२ र ट्रक (तराई)को १३.१३ प्रतिशत लागत वृद्धि भएको छ । 

यस्तै पेट्रोलबाट सञ्चालित सवारी साधनको लागत ८.५ प्रतिशत वृद्धि भएको पत्रकार सम्मेलनमा जनाइएको थियो । 

व्यवसायीले गण्डकीमा भाडा समायोजन गरिए पनि बागमती प्रदेशमा भने नगरिएको प्रति पनि ध्यानाकर्षण गराएका थिए । गएको असार २७ गते समायोजन भएको भाडादर पर्यटक बोक्ने सवारी साधनको हकमा समायोजन नभएकाले त्यसमा पनि वैज्ञानिक भाडादर समायोजन गर्न माग गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्