
काठमाडौं, २३ असार — छिमेकी राज्य पश्चिम बंगालमा गोर्खाल्यान्ड आन्दोलन चलेका कारण आफ्नो राजस्वमा भारी क्षति पुगेको आरोप लगाउँदै सिक्किमले उसका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने भएको छ ।

स्रोतहरूका अनुसार सिक्किम सरकारले विगत ३२ वर्षमा करीब ६० हजार करोड भारु नोक्सानी बेहोर्नुपरेको छ ।
पश्चिम बंगलाबाट छुट्टिएर गोर्खाल्यान्ड बनाउनुपर्ने आन्दोलन चलेका कारण आफूलाई घाटा लागेको सिक्किमको मूल्यांकन छ ।
सिक्किम सीमापारि चिनियाँ क्षेत्रमा सडक बन्न शुरु भएपछि भारत र चीनबीच उठेको विवादपछि यो घटनाक्रम विकसित भएको हो ।
सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङले भने, ‘सिक्किमका जनताले चीन र बंगालबीच स्यान्डबिच बन्नका लागि भारतसँग विलयका लागि सहमति गराएका होइनन् ।’
सिक्किमबाट बाहिर गइरहेका गाडीमाथि भएको आक्रमणको उनले विगत दुई दिनयता लगातार निन्दा गरेका छन् । चाम्लिङले गृहमन्त्री राजनाथ सिंहलाई चिट्ठी लेखेर गोर्खाल्यान्ड राज्यको समर्थन गरेलगत्तै यी आक्रमण शुरु भएका हुन् ।
गोर्खा समूहले आन्दोलनका क्रममा गरेको नाकाबन्दीका कारण सिक्किमलाई पनि असर परेको छ । आन्दोलन र नाकाबन्दीका कारण आफ्नो राज्यको विकासमा विगत तीन दशकदेखि असर परेको चाम्लिङको भनाइ छ ।
एजेन्सी