
काठमाडौँको बौद्धबाट रेडियोधर्मी पदार्थ 'युरेनियम’ जस्तो देखिने धातुसहित पक्राउ परेका आठ जना सामान्य तारेखमा छुटेका छन् ।
बरामद भएको युरेनियम परीक्षणमा पुष्टि नहुँदा मुद्दा अघि बढ्ने अवस्था नभएपछि उनीहरूलाई सामान्य तारेखमा छाडिएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँका प्रमुख, सहन्यायाधिवक्ता गङ्गाप्रसाद पौडेलले बरामद भएको धातु परीक्षण गर्दा युरेनियम भएको पुष्टि नभएपछि मुद्दा अघि बढ्ने अवस्था नभएको बताए ।
गत फागुन ३ गते काठमाडौँको बौद्धस्थित हायात रिजेन्सी होटलको कार पार्किङ गर्ने स्थानमा पार्किङ गरिराखेको बा ५ च ८२०९ नम्बरको कारभित्रबाट दुई किलो आठ सय ग्राम तौल भएको युरेनियम जस्तो पदार्थ बरामद गरेको थियो ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) तथा खानी विभागमा बरामद पदार्थको परीक्षण गरिएको थियो । दुवै ठाउँबाट परीक्षणको नतिजा नकारात्मक आएको पौडेलले जानकारी दिए ।
महानगरीय प्रहरी परिसर काठमाडौँले प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बरामद धातु युरेनियम पुष्टि हुन नसकेपछि पक्राउ परेका सबैजनालाई सामान्य तारेकमा रिहा गरिएको बताए । गोरखापत्र दैनिकमा खबर छ ।