२४ असार २०८३, बुधबार

सरसर्ती २४ घण्टा : यस्ता छन् प्रमुख समाचार

सरसर्ती २४ घण्टा : यस्ता छन् प्रमुख समाचार

लोकान्तर राउण्ड अपमा पाठकहरुलाई स्वागत छ । लोकान्तर राउण्ड अपमा हामी दैनिकरुपमा बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमलाई प्रस्तुत गर्ने गर्छौँ । 
०००००
सरकारले बहुउद्देश्यीय प्रकृतिका ठूला जलाशययुक्त आयोजनालाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाउने भएको छ । ऊर्जा सुरक्षाका लागिसमेत जलाशयुक्त आयोजना जरुरी रहेको ठहरसहित त्यस्ता परियोजना अगााडि बढाउने सरकारको उद्घोष छ । 
माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाअन्तर्गत निर्माण सम्पन्न भएको २२०–१३२ केभी नयाँ खिम्ती सबस्टेशनको ‘समुद्घाटन तथा प्रशंसापत्र वितरण समारोह’ लाई शनिबार दोलखाको गोगरमा सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले ठूला जलाशयुक्त आयोजनाको विकासमा सरकार लागिपर्ने बताए ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतले बनाइदिएको गठबन्धनलाई जनताको आँगनमा लगेर पछार्ने चेतावनी दिएका छन् ।
नेकपा एमाले सम्पर्क समन्वय कमिटीद्वारा काठमाडौंमा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सत्तारुढ गठबन्धनलाई स्यालहरूको मोर्चाको संज्ञा दिएका छन् ।
‘यो अदालतले बनाइदिएको गठबन्धन हो । जनताले बनाइदिएको गठबन्धन हो र ? यस्तालाई जनताको आँगनमा लगेर पछार्नुपर्छ,’ ओलीले भने । अदालतले बनाएको सरकारलाई मुद्दा लड्न जाऊ भन्ने र आफूहरू जनताको बीचमा जाने ओलीले बताए ।
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनको भर नपरी आफ्नै खुट्टामा उभिन कार्यकर्तालाई निर्देशन दिएका छन् । 
सिन्धुली पार्टी कार्यालयको भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नेता कार्यकर्तालाई जनतासँग एकाकार हुन भनेका हुन् । 

‘पहिले आफ्नै खुट्टामा उभिने हो, गठबन्धनको भर नपरौँ,’ उनले भने, ‘विगतका कमजोरी सच्याउने र जनतासँग माफी माग्न अप्ठ्यारो मान्न पर्दैन ।’
०००००
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले स्थानीय तह निर्वाचनमा ६० प्रतिशत जित हासिल गर्ने घमण्ड नगर्न एमाले अध्यक्ष केपी ओलीलाई चेतावनी दिएका छन् । 
ओलीकै घमण्डका कारण वामपन्थीहरूको दुई तिहाइ नजिकको संघीय सरकार ढलेको र प्रदेश सरकार पनि गुमाउनु परेको उल्लेख गर्दै उनले स्थानीय निर्वाचनमा ओलीको घमण्डलाई नेपाली जनताले जवाफ दिने बताएका हुन् । 
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ओली नेतृत्वकै सरकारले नारायणहिटी संग्रहालय र पशुपतिमा रहेको धर्मशाला कौडीको मूल्यमा विचौलियालाई बुझाएको आरोप लगाए ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपाले देशको नेतृत्व नगरेसम्म देशले मुहार नफेर्न दाबी गरेका छन् ।
सो पार्टीले शनिबार सिन्धुलीमा गरेको आमसभामा उनले ठूला दलहरु एउटै सिक्काको दुई पाटा भएकाले कुनै फरक नभएको बताए। “कुनै पनि पार्टी, नेताले १०–१० वर्ष मौका पाउँदा पनि देशले मुहार फेर्न नपाएकाले हामी जनताको अदालतमा भन्न आएका हौँ”, उनले भने ।
००००
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले माओवादी एक्लै चुनाव लड्न तयार भएको बताएका छन् । 
बागलुङ काठमाडौं सम्पर्क समन्वय समिति काठमाडौं आयोजना गरेको वनभोज कार्यक्रममा बोल्दै उनले माओवादी एक्लै चुनावी प्रतिस्पर्धा गर्न तयार रहेको बताएका हुन् । 
“हामी अरुभन्दा धेरै लचिलो छौं,” मन्त्री पौडेलले भने, “हामी आफ्नै बुताले चुनाव लडेर जित्छौं । हामीले चुनाव जित्ने ठाउँ हिजो पनि थिए आज पनि छन् ।”
००००
गृहमन्त्री बालकृष्ण खाँणले आउँदो स्थानीय निर्वाचन विकास निर्माणका लागि महत्वपूर्ण अवसर भएको बताएका छन् । शनिबार रामपुर नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्दै उनले राजनीतिक स्थायित्व र विकास निर्माणको लागि स्थानीय तहको निर्वाचन महत्वपूर्ण अवसर भएकोमा जोड दिए। उनले एमसीसीबारे भ्रम रहेकाले यसलाई चिर्न जरुरी रहेको पनि बताए ।
००००
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले कांग्रेसले अधिकतम सिट जित्ने गरी गठबन्धन हुन सक्ने बताएका छन् । 

प्रेस युनियन बाँकेले शनिवार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले स्थानीय निर्वाचनमा धेरैभन्दा धेरै जित हासिल गरे केन्द्रीय निर्वाचन जित्न सजिलो हुने भएकाले गठबन्धनको सम्भावना नटरेको उल्लेख गरे ।
००००
कलाकार प्रकाश सपुतले ‘पीर’ म्यूजिक भिडियोको विवादास्पद दृश्य हटाएर भिडियो पुनः यूटयुबमा अपलोड गरेका छन् । 
म्युजिक भिडियो सच्याएपछि सामाजिक सञ्जाल फेसबुकमा स्टेटस लेख्दै सर्जक सपुतले ‘पीर’ले धेरै कुरा सिकाएको बताएका छन् ।
००००
चालु आर्थिक वर्षको पहिलो सात महिनामा फलफूलको आयात आकासिएको छ । सो अवधिमा ६ अर्ब ६० करोड ९१ लाख २८ हजार ६०० मूल्य बराबरका आँप, सुन्तला, कागती, अङ्गुर र स्याउको आयात भएको हो । तीमध्ये सबैभन्दा बढी स्याउको आयात भएको छ । छिमेकी मुलुक चीनबाट तीन अर्ब २२ करोड २२ लाख ३० हजार मूल्यका विभिन्न जातका तीन करोड ८३ लाख ५९ हजार १३३ केजी स्याउ आयात भएको भन्सार विभागले जनाएको छ ।
००००

salt training

कमेन्ट गर्नुहोस्