०२ असार २०८३, मंगलबार

प्याब्सनले बनाइदियो बाढीपीडितका लागि चिटिक्क परेका २५ घर

प्याब्सनले बनाइदियो बाढीपीडितका लागि चिटिक्क परेका २५ घर

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले सुनसरीको रामधुनी नगरपालिका–८, बानडाँडामा बाढीपीडितका लागि नयाँ घर बनाइदिएको छ । 

२०७४ सालमा आएको बाढीपहिरोबाट विस्थापित २५ परिवारका लागि प्याब्सनले घर बनाइदिएको हो । 

आइतवार एक कार्यक्रम गर्दै घर हस्तान्तरण गरिएको हो । 

घर निर्माणका लागि नगरपालिकाले जग्गा उपलब्ध गराएको थियो । २०७६ सालदेखि घर निर्माण थालिएको थियो । वस्तीमा तीन कोठाको घर र एउटा शौचालय निर्माण गरिएको छ ।

प्याब्सनका केन्द्रीय अध्यक्ष टीकाराम पुरीले डेढ करोडको लागतमा घर निर्माण गरिएको बताए । 

२०७४ सालमा आएको बाढीपहिरोमा परेकाहरूलाई सहयोग गर्ने भनेर केही आर्थिक संकलन गरे पनि वितरण गर्न ढिलो भएपछि वस्ती निर्माण गरिएको उनको भनाइ छ । 

सो वस्तीको २०७६ वैशाख २९ गते तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिलान्यास गरेका थिए ।

२४ वटा घर नगरपालिकालाई हस्तान्तरण गरिएको छ । एउटा भने रञ्जित चौधरीलाई हस्तान्तरण गरिएको प्याब्सनले जनाएको छ । 

केही घरहरूको झ्याल ढोकालगायत निर्माणका काम बाँकी रहेकाले सो सकेर बाढीपीडितलाई हस्तान्तरण गर्ने गरी नगरपालिकालाई हस्तान्तरण गरिएको प्याब्सनको भनाइ छ । 

प्याब्सनको महाधिवेशन यही साता तय भएकाले हतार गरेर घरहरू हस्तान्तरण गरिएको हो । नगरपालिकाले ती घरहरू केही दिनभित्रमै पीडितहरूलाई हस्तान्तरण गर्ने जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्