
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले गत शुक्रबार १९ हजार ६०० अस्ट्रेलियन डलर बरामद गर्यो।
कतार एयरवेजको उडानमार्फत दोहा हुँदै अस्ट्रेलिया उड्न लागेकी गोरखा बोर्लाङ–८की रन्जिता श्रेष्ठको साथबाट उक्त डलर बरामद भएको हो।
बिहीवार नेपाल वायुसेवाको उडान मार्फत दुबई जान लागेकी काठमाडौँ महानगरपालिका –२ की सहनशीला वज्राचार्य शाक्यको साथबाट सात हजार ७०० युरो,एक हजार ९०० क्यानेडियन डलर तथा १३ हजार साउदी रियालर ३३ ओमानी रकम बरामद भयो ।
गत फागुन २६ गते अस्ट्रेलियन एयरलाइन्स भिस्टारामार्फत दिल्ली जान लागेका थाई महिला वान्विसा जन्तासन र वारापोर्न खुन्सोम्बत नेपालमा प्रतिबन्धित भारतीय रुपियाँ दुई हजार र पाँच सयका झन्डै तीन लाखका नोटसहित पक्राउ परे ।
गत फागुन १७ गते सिङ्गापुर एयरलाइन्स मार्फत सिङ्गापुर हुँदै जापान जान लागेका स्याङ्जा मिर्मी–६ का रेस्मराज भट्टराईको साथबाट जापानी येन १५ लाख ९० हजार बरामद भयो ।
हिमालय एयरलाइन्सबाट फागुन ११ गते मलेसियाको क्वालालाम्पुर उड्न लागेका भारतीय नागरिकको साथबाट ३८ हजार ९०० मलेसियन रिङ्गेट बरामद भयो ।
विदेशी मुद्राको अवैध कारोबारका यी केही घटना हुन् । यसले नेपालबाट विदेशी मुद्राको अवैध कारोबार बढेको देखाउँछ ।
यी घटनाबारे राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छुट्टाछुट्टै अनुसन्धान गरिरहेका छन्। गोरखापत्र दैनिकमा मित्र भण्डारीले खबर लेखेका छन् ।