१८ असार २०८३, बिहीबार
सरसर्ती २४ घण्टा

एआईजी बढुवा सिफारिशविरुद्ध डीआईजीहरूको उजुरी, मोरङको लेटाङमा स्थानीय र प्रहरीबीच झडप

एआईजी बढुवा सिफारिशविरुद्ध डीआईजीहरूको उजुरी, मोरङको लेटाङमा स्थानीय र प्रहरीबीच झडप

लोकान्तर राउण्ड अपमा पाठकहरुलाई स्वागत छ । लोकान्तर राउण्ड अपमा हामी दैनिकरुपमा बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमलाई प्रस्तुत गर्ने गर्छौँ ।

०००

नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिशविरुद्ध उजुरी परेको छ ।

गृहमन्त्रालयले चैत १ गते डीआईजीहरू वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवाका लागि सिफारिश गरेको थियो ।

त्यसविरुद्ध डीआईजी घनश्याम अर्याल, ईश्वरबाबु कार्कीलगायतले लोक सेवा आयोगका अध्यक्षको नेतृत्वमा रहेको गुनासो सुनुवाइ समितिमा उजुरी दिएको एक डीआईजीले लोकान्तरलाई बताए ।

उनीहरूले आफूहरू भन्दा कनिष्ठलाई बढुवा सिफारिश गरिएको जिकिर उजुरीमा गरेका छन् ।

समितिमा लोक सेवा आयोगका अध्यक्षका अलावा नेपाल सरकारका मुख्य सचिव र कानून मन्त्रालयका सचिव सदस्य छन् ।

०००

मोरङको लेटाङमा स्थानीय र प्रहरीबीच झडप भएको छ ।

स्थानीय एक शिक्षकले विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपपछि भएको आन्दोलनले उग्ररुप लिँदा झडप भएको थियो । पीडित विद्यार्थीका अभिभावक र आफन्तले दिनभर प्रदर्शन गरेका थिए ।

०००

भारतका लागि नेपाली आवासीय राजदूत पदमा डा. शंकरप्रसाद शर्मा नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई आइतवार नियुक्त गरेकी हुन् ।

शर्मालाई मन्त्रिपरिषद्को बैठकले राजदूतमा सिफारिस गरेको थियो ।

०००

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी चुनावबाट आफ्नो पार्टी पहिलो दल बन्ने सम्भावना प्रवल रहेको दाबी गरेका छन् ।

प्रगतिको मुख्य संवाहक माओवादी नै रहेछ भनेर जनताले गहिरो रियलाइजेसन गरेको उनको भनाइ छ ।

कास्कीको पोखरामा आइतवार प्रेस सेन्टरले आयोजना गरेको कार्यक्रममा प्रचण्डले कसैको वैशाखी नटेकी माओवादी पहिलो दल बन्ने दावी गरेका हुन् ।

‘२०६४ सालमा आउँदा पनि कसैले माओवादीले चुनाव जित्छ भन्न सकेको स्थिती थिएन, देशभरबाट ५, १० सीट ल्याउँछ भन्थे । जनताले यथार्थ के हो भन्ने देखाइदिएका थिए,’ प्रचण्डले भने, ‘अब २०७९ सालका चुनावमा पहिलो पार्टी बन्ने सम्भावना छ । बीचमा गल्ती गरेछौँ भनेर जनतामा रियलाइजेसन भएको छ ।’

प्रचण्डले तराईका जिल्लामा माओवादीको पक्षमा जनउभार शुरू भएको उनले दावी गरे । ‘मधेसमा एउटै जिल्लामा हजार, १२ सय आउने गरेका छन् । विगतमा माओवादी प्रगतिको सम्वाहक हो भन्ने बुझ्न सकिएन भन्ने उहाँहरुको भनाइ पाएको छु,’ उनले भने, ‘अबको चुनावमा हामी वैशाखी टेकेर होइन, आफ्नै ताकतले लड्छौँ ।’

०००

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोगले उम्मेदवारको मनोनयन दुई दिन राख्न लागेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

झलनाथ खनालको निर्वाचन क्षेत्र इलामको फिक्कलमा आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले गठबन्धनको खटपट मिलाउन दुई दिन उम्मेदवार मनोनयन राख्न खोजेको आरोप लगाए ।

‘निर्वाचनमा उम्मेदवार मनोनयन जहिले पनि एक दिन मात्रै हुन्छ । तर, यस पटक वैशाख ११ र १२ गते राख्न लागिएको रहेछ,’ ओलीले भने, ‘पाँच दलीय गठबन्धनमा कुरा नमिलेर उत्पन्न हुने खटपट मिलाउन दुई दिन राखिएको हो ?’

दुनियाँभर उम्मेदवार मनोनयन एकै दिन हुने भए पनि यसपटक निर्वाचन आयोगले किन दुई दिन मनोनयनको समय तोकेको भनेर ओलीले प्रश्न गरेका छन् ।

०००

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा दलका प्रमुख सचेतक ठम्मर विष्ट एमालेमा प्रवेश गरेका छन् ।

सुर्खेत क्षेत्र नं. १ (क)का प्रदेश सभा सदस्यसमेत रहेका विष्टलाई एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आइतवार स्वागत गरेका हुन् ।

सुर्खेतमा एक कार्यक्रम गर्दै उनीसहित पार्टी प्रवेश गर्नेहरूलाई वरिष्ठ उपाध्यक्ष पोखरेल, स्थायी समिति सदस्य यामलाल कँडेललगायतका नेताले स्वागत गरेका थिए ।

विष्ट एमाले प्रवेश गर्ने तयारी गरेपछि आइतवार नै माओवादी केन्द्रले उनलाई निलम्बन गरेको थियो ।

०००

बैंकहरूमा निक्षेप र कर्जा दुवै घटेको छ ।

चैत पहिलो साता वाणिज्य बैंकहरूमा ५ अर्ब रूपैयाँले निक्षेप संकलन घट्दा कर्जा प्रवाह पनि ४ अर्ब रूपैयाँले घटेको छ ।

वाणिज्य बैंकहरूमा ३० फागुनको तुलनामा ४ चैतमा ४३ खर्ब ३३ अर्ब रूपैयाँको निक्षेप घटेर ४३ खर्ब २८ अर्ब रूपैयाँमा झरेको छ । यो अवधिमा बैंकहरूले प्रवाह गरेको कर्जा पनि ४१ खर्ब ७२ अर्ब रूपैयाँबाट घटेर ४१ खर्ब ६८ अर्ब रूपैयाँमा झरेको छ ।

फागुन लागेपछि सुधार हुँदै गएको वाणिज्य बैंकहरूको निक्षेप चैत लागेपछि पुनः घट्न सक्ने संकेत पहिलो साताको तथ्यांकले देखाएको छ ।

०००

‘क्रिप्टोकरेन्सी’को प्रचार गरेको भन्दै अनुसन्धानका लागि बोलाइएकी अभिनेत्री प्रियंका कार्कीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जिम्मा जमानीमा छाडेको छ ।

अनुसन्धानकै दायरामा रहेकाले बोलाएको समयमा उपस्थित हुने गरी छाडिएको सीआईबीका निर्देशक डीआईजी धीरजप्रताप सिंहले जानकारी दिए ।

प्रियंकाले सामाजिक सञ्जालमा ‘क्रिप्टोकरेन्सी’मा आफूले पनि लगानी गरेको भन्दै अरूलाई पनि लगानी गर्न आह्वान गरेको पाइएपछि सीआईबीले आइतवार उनलाई ब्युरोमा बोलाएर सोधपुछ गरेको थियो ।

क्रिप्टोकरेन्सीको कारोबारलाई नेपाल राष्ट्र बैंकले गैरकानूनी भनेको छ ।

०००

तनहुँमा थुनछेक बहसपछि मात्रै अभिनेता पल शाहलाई नवलपुर लगिने भएको छ ।

नवलपरासी पूर्वी जिल्ला अदालतमा मुद्दा दर्ता भइसके पनि पलविरुद्ध त्यहाँ तत्काल थुनछेक बहस नहुने भएको हो ।

गत बिहीवार उनीविरुद्ध बलात्कारको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय तनहुँमा पनि उनै नाबालिगका आफन्तले बलात्कारको अभियोगमा जाहेरी दिएकाले तनहुँ अदालतमा थुनछेक बहसपछि मात्रै नवलपुर पठाइने भएको हो ।

०००

युट्युबमा व्यक्तिको चरित्र हत्या गरेको भन्दै प्रहरीको साइबर ब्युरोले एक महिलालाई पक्राउ गरेको छ ।

युट्युब च्यानलमार्फत् भ्रामक तथा अनर्गल वक्तव्य बाजी गरेको भन्दै बराहक्षेत्र नगरपालिका-३ की शर्मिला वाइबालाई पक्राउ गरेको ब्युरोका प्रवक्ता एसएसपी नविन्द्र अर्यालले जानकारी दिए ।

उनलाई शुक्रवार जिल्ला प्रहरी कार्यालय चितवनको सहयोग चितवनको खैरहनीबाट पक्राउ गरी ७ दिनको म्याद थप गरेको ब्युरोले जनाएको छ ।

 

salt training

कमेन्ट गर्नुहोस्