२६ असार २०८३, शुक्रबार

आगामी बजेटमा कृषि क्षेत्र पहिलो प्राथमिकतामा- अर्थमन्त्री शर्मा

आगामी बजेटमा कृषि क्षेत्र पहिलो प्राथमिकतामा- अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर बजेट निर्माण गर्ने बताएका छन् । 

रुकुम सदरमुकाममा पत्रकार महासंघ रुकुमले सोमवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले मन्त्रालय बजेट निर्माणमा केन्द्रित हुन थालेको र कृषिलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम बनाउन शुरू गरेको बताएका हुन् । 

‘आगामी आर्थिक वर्षको बजेटले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्ने गरी छलफल अगाडि बढाएका छौं,’ उनले भने, ‘आयात प्रतिस्थापन गर्ने र निर्यात वृद्धि गर्ने सवालमा कृषि क्षेत्रले धेरै मद्दत गर्ने विश्वास छ ।’ 

कुल वैदेशिक व्यापारमा माघ मसान्तसम्म निर्यातको हिस्सा १० प्रतिशत नाघेको बताउँदै उनले आगामी आर्थिक वर्षदेखि प्रत्येक वर्ष निर्यातको हिस्सा १० प्रतिशतका दरले बढाउँदै लैजाने लक्ष्य राखिने बताए । 

‘एउटा शहरबाट अर्को शहरको दूरी घटाउने योजना बनाएका छौं । उदाहरणका लागि काठमाडौंबाट पोखराको सडक दूरी २ घण्टा कायम गराउने गरी योजना बनाइरहेका छौं । अन्यत्र पनि यस्तै योजना बनाउँदैछौँ,’ उनले भने, ‘ग्रामीण अर्थतन्त्र सुधारमा हामी विशेष ध्यान दिँदैछाैं । ग्रामीण क्षेत्रका उत्पादनले सहजै बजार पहुँच पाउने कुराको सुनिश्चितता गरिनेछ ।’

उनले जनतामा आधारित विकास मोडललाई समेत बजेटमार्फत् कार्यान्वयन गर्ने बताए । 

उनले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम, सुनचाँदी, खानेतेल, प्लास्टिक, डण्डी तथा डण्डीजन्य वस्तु, ढुवानीमा प्रयोग हुने पानीजहाज तथा कन्टेनरको भाडादरलगायतको मूल्य श्रृंखलामा भएको वृद्धिले नेपालमा समेत मूल्यवृद्धिमा चाप परिरहेको बताए । यद्यपि मूल्यवृद्धिका लागि राखिएको वार्षिक लक्ष्यको वाञ्छित सीमाभित्रै रहेकाले अत्तालिनुपर्ने स्थिति नरहेको बताए । 

शोधनान्तर घाटालाई बिस्तारै सुधार गर्दैै लगेको तथा तरलता अभाव केही दिनभित्रै समाधानउन्मुख भएकाले अर्थतन्त्र बिस्तारै लयमा आउने विश्वास उनले दिलाए । 

अहिले अवैध डिजिटल कारोबारका कारण दैनिक ५० करोड रूपैयाँसम्म नेपाली मुद्रा बाहिरिन थालेको भन्दै उनले यस्ता गतिविधि रोक्न सबै संयन्त्र परिचालन गरेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्