
अर्थमन्त्री जनार्दन शर्माले गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्ने वातावरण तयार गर्न सरकारले नीतिगत परिवर्तन गरेको बताएका छन् ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का प्रमुख संरक्षक शेष घलेको आह्वानमा मङ्गलबारदेखि काठमाडौँमा सुरु भएको १०औँ महाधिवेशन एवं विश्व सम्मेलन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न आह्वान गरेका हुन् ।
उनले भने, “विश्वका विभिन्न मुलुकमा गएर विभिन्न पेसा, व्यवसाय गरेका नेपालीलाई मताधिकारबाहेक सम्पूर्ण अधिकार संविधानले दिएको छ । लगानीका लागि कानुन अप्ठ्यारो बनेको थियो । अहिले सच्चाउने प्रक्रियामा छौँ । ”
उनले विदेशमा हासिल गरेको ऊर्जा र सिकेको सीपलाई नेपालको समृृद्धिका लागि लगानी गर्न आग्रह गर्दै त्यसका लागि वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताए । मन्त्री शर्माले विकास, शिक्षा, स्वास्थ्य, जलविद्युत्, सडक, यातायात, पर्यटनलगायतका क्षेत्रमा पर्याप्त मात्रामा लगानीको अवसर रहेको बताए । तर, पर्याप्त सम्भावना हुँदाहुँदै पनि निर्यात बढाउन नसकेको उनको धारणा थियो ।
उनले भने, “हामी आयात घटाउन लाग्नुपर्छ । पेट्रोल, डिजेलको भाउ बढ्दा, डलर बढ्दा ठूलो प्रभाव पारेको छ । यसको समाधानका लागि हामीले सबै बाटो खुला राखेका छौँ । ”
मन्त्री शर्माले विदेशमा बस्ने नेपालीलाई नेपाल नआई डलर खाता खोलेर कारोबार गर्न सक्ने व्यवस्था गरिएको जानकारी गराए । साथै आत्मनिर्भर हुन सक्ने क्षेत्रको पहिचान गरेर उत्पादनमा जोड दिनुपर्ने उनको भनाइ थियो ।
१०औँ महाधिवेशनमा एनआरएनका पूर्वअध्यक्ष एवं प्रमुख संरक्षक शेष घलेले गैरआवासीय नेपाली सधैँ नेपालको समृद्धि र विकासमा केन्द्रित हुँदै आएको उल्लेख गरे । उनले नेपाल सरकार र गैरआवासीय नेपाली सङ्घबीचको साझेदारमा समृद्धि र विकासको नवीन यात्रा आरम्भ हुने विश्वास व्यक्त गरे । गोरखापत्र दैनिकमा खबर छ ।