
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीय सरकार सहज ढंगले चलाउन पनि स्थानीय तहको बहुमत स्थानमा चुनाव जित्नुपर्ने बताएका छन् ।
उनले सोहीअनुसार योजना बनाएर अघि बढ्न केन्द्रीय सदस्यहरूलाई निर्देशन दिए ।
स्थानीय तह निर्वाचनको रणनीति बनाउने लगायत विषयमा निर्णय लिन बुधवार शुरु केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले बहुमत स्थानीय तहमा विजय हासिल गर्ने गरी जयारीमा जुट्न आग्रह गरेका हुन् ।
‘केन्द्रमा बहुमतको सरकार बनेपछि पनि विकास जनताको घरदैलोमा पुर्याउने स्थानीय तह हुन् । स्थानीय तहमा महत्त्वपूर्ण ठाउँमा बहुमतसहित विजय हासिल गर्न सकेनौँ भने सहज नहुन सक्छ,’ ओलीले भने ।
ओलीले संगठनात्मक, प्रचारात्मक र अरू पक्ष कसरी अगाडि बढाउने यसै बैठकले तय गर्ने बताए । ‘आजका समस्या र चुनौतीको समस्या र समाधान गर्ने अभिभारा नेपाल एमालेसँग छ,’ ओलीले भने ।
बिहीवारसम्म चल्ने केन्द्रीय कमिटी बैठकमा विभिन्न प्रतिवेदन पेश गर्ने लगायत कार्यसूची छ ।