
वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले संवैधानिक निकायको नियुक्तिसम्बन्धी अध्यादेश निष्क्रिय भएकोले नियुक्तिविरुद्धका रिट खारेज हुनुपर्ने जिकिर गरेका छन् ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी बहसका क्रममा निवेदक डा. गणेश रेग्मीको तर्फबाट बहस गर्दै नेउपानेले संवैधानिक इजलासबाट हालसालै नागरिकता अध्यादेशविरुद्धका रिट खारेज भएको स्मरण गराएका हुन् ।
‘सम्मानित संवैधानिक इजलासबाट हालसालै मात्र नागरिकता अध्यादेश निष्क्रिय भइसकेको भन्दै रिट खारेज भइसकेको छ । संवैधानिक नियुक्तिको सम्बन्धमा पनि केही गरिराख्नु परेन रिट खारेज गर्दिए हुन्छ,’ नेउपानेले भने ।
संवैधानिक इजलासमा रहेका न्यायाधीश ईश्वर खतिवडाले नागरिकता अध्यादेशविरुद्धको रिट र यो फरक विषय भएको बताए ।
‘नागरिकता अध्यादेश खारेज भएपछि त्यसमा असर परेको थिएन, यता नियुक्ति कायम रहेकोले असर परेको हो,’ न्यायाधीश खतिवडाले भने ।
चियाब्रेक अघिसम्म निवेदकका तर्फबाट दिनेश त्रिपाठी र डा. गणेश रेग्मीले बहस गरेका छन् ।