
बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका कलाकार पल शाहले पीडित बालिकाले महिनावारी रोकिएको र आफूलाई स्वीकार्नुपर्ने भन्दै म्यासेज गरेको बयान सरकारी वकिलको कार्यालयमा दिएका छन् ।
‘२०७८ सालको जेठ महिनाको अन्तिमतिर मलाई फोन गरी तपाईं र मेरो सम्बन्ध अरुले थाहा पाए, मलाई गाह्रो भयो, मेरो महिनावारी रोकियो, तपाईंले मलाई स्वीकार्नुपर्छ भन्ने समेतका शब्दहरू म्यासेजमा मलाई प्रेषित गरेकी थिइन्,’ शाहले बयानमा भनेका छन् ।
बयानमा उनले असार महिनामा काठमाडौंको बानेश्वरमा पीडित बालिका, पीडितकी आमा, दुर्गेश थापा, सरोज ओली, योगेश काजी, उनका म्यानेजर कुष्ण जोशी बसेर विवाह गर्ने कुरा भएको र उमेर नपुगेकाले पछि विवाह गर्ने कुरा भएको स्वीकारेका छन् ।
शाहले बालिका सुतेको कोठामा गएको र फेसवास लिएर कमल खत्रीसँग सुतेको समेत बताएका छन् ।
यस्तो छ पल शाहको बयान -
मैले मिति २०६९ सालमा कलाकारिता क्षेत्रमा प्रवेश गरी नेपाली चलचित्रमा नायकको भुमिका निर्वाह गर्दै म्युजिक भिडियोहरुमा अभिनय गर्ने क्रममा राम्रो स्वर भएकी गायिका १६ वर्षिया परिवर्तित नाम ०७८/७९ व्यास १२ सँग मिति २०७७/०६/२२ गते काठमाण्डी साँखुमा भेट, चिनजान भई फोन नम्बर आदानप्रदान गरी हामीहरु बिच फोन तथा सामाजिक संजाल म्यासेन्जरमा कुरा हुने र म्युजिक भिडियो सुटिङ गर्ने क्रममा हामीहरु विभिन्न स्थानमा गई बस्ने गरेका थियौं । मिति २०७८/०१/ १४ गते साँझ तनहुँ दुलेगौंडास्थित प्रदिप थापाको घर कोठामा बास बसी राती अबेरसम्म बियर खार्दै पीडित र मैले म्यासेज आदानप्रदान गर्दै अं. ११:४५ बजेतिर हामीले खाई बाँकी रहेको बोतलको बियर लिएर पीडित ०७८/७९ व्यास १२ सुतेको कोठामा गई ढोका धकेलीभित्र पसी निजलाई बियर खान दिई, फेसवास लिएर म आफ्नो कोठामा गई कमल खत्रीसँग सुतेको हुँ। पीडित नावालिकाले २०७८ सालको जेष्ठ महिनाको अन्तिमतिर मलाई फोन गरी तपाइँ र मेरो सम्बन्ध अरुले थाहा पाए, मलाई गाह्रो भयो, मेरो महिनावारी रोकियो, तपाइँले मलाई स्वीकार्नु पर्छ भन्ने समेतको शब्दहरु म्यासेजमा मलाई प्रेशित गरेकी थिइन, २०७८ सालको असार महिनामा काठमाण्डौको वानेश्वरमा पीडित, पीडितको आमा, गायन क्षेत्रका दुर्गेश थापा, सरोज ओली, योगेश काजी, मेरो मेनेजर कृष्ण जोशी र म समेत भई छलफल गर्ने क्रममा पीडित पक्षले मलाई पीडितलाई तिमीले विवाह गर्नु पर्छ भनेकाले मैले पीडितको उमेर पुगेपछी विवाह गरौंला, अहिले केटीको उमेर पुगेको छैन भनेको थिएँ। पीडित १८ वर्ष भन्दा कम उमेर नाबालिका हुन भन्ने कुरा मलाई पूर्णरूपमा थाहा जानकारी थियो। पीडित पक्षले पेश गरेको अडियो रेकर्डमा भएको स्वरमध्ये Girl friend boy friend बिच हुनु भनेको नर्मल (सामान्य) हो भन्ने समेतका शब्दहरू रहेको आवाज मेरो आफ्नै हो सुनेर सनाखत गरी दिएँ भन्ने समेत व्यहोराको मिति २०७८/११/१८ गतेको बयान ।