
गुल्मीको मालिका गाउँपालिकामा यसपालिको स्थानीय चुनावमा तीव्र प्रतिस्पर्धा हुने देखिएको छ ।
अघिल्लो चुनावमा नेकपा (एमाले)का उम्मेदवार रितबहादुर थापाले ४ हजार ४२ मत ल्याएर अध्यक्ष पद जितेका थिए ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ज्ञानबहादुर कार्कीले ३ हजार ४४७ ल्याएका थिए भने माओवादी केन्द्रका देवीराम अर्यालले २ हजार ४० मत ल्याएका थिए ।
अहिले कांग्रेस र माओवादीबीच चुनावी तालमेलको सम्भावना रहेकाले एमालेलाई विरासत जोगाउन चुनौती देखिएको छ ।
सत्तारुढ दलहरूको गठबन्धन बन्दा पनि आफूहरूले चुनाव जित्ने दाबी एमालेको छ ।
पार्टी एकीकरणका क्रममा नेकपामा रहेका पूर्व माओवादीका नेता कार्यकर्ता समेत अहिले एमालेमै रहेकाले त्यतिबेला माओवादीले ल्याएको मतलाई लिएर हिसाबकिताब गर्न नमिल्ने दाबी उसको छ ।
एमालेले अध्यक्षको उम्मेदवारमा रितबहादुर थापालाई नै दोहोर्याउने सम्भावना छ ।
५ वर्षको कार्यकालमा उनले गरेका केही नयाँ काम र स्थानीय जनतालाई विभिन्न कार्यक्रममार्फत सहयोग गरेका कारण पनि चुनाव जित्न सहज हुने बुझाइ एमालेको देखिन्छ ।
विपक्षमा गठबन्धन हुँदा लोकप्रिय उम्मेदवार खडा गर्नुपर्ने चुनौती पनि एमालेमाथि छ ।
उनका अलावा एमालेबाट राजनीति गरिरहेका ओम कार्की, वडा नम्बर ६ का वडाध्यक्ष शोभाखर गिरी, डा. नगेन्द्र अर्याल, भरत अर्याल, आनन्द घिमिरे, वडा नम्बर ४ वडाध्यक्ष हीरालाल अर्याल पनि अध्यक्षका लागि आकांक्षी छन् ।
गठबन्धन भएको खण्डमा जीत हात पार्नेमा कांग्रेस पनि आत्मविश्वासी देखिएको छ । अघिल्लोपटक प्रतिस्पर्धी मत ल्याएको कांग्रेस गठबन्धन हुँदा सहजै विजयी हुने हिसाबकिताबमा देखिन्छ ।
कांग्रेसबाट रेखा जिसी, दीपक भण्डारी, उपेन्द्र अर्याल, वडा नम्बर १ का वडाध्यक्ष इन्द्र घर्ती र पिताम्बर अर्याल आकांक्षी छन् ।
यता माओवादीले पनि गाउँपालिका अध्यक्षमा दाबी गरेको छ । माओवादीले अध्यक्षको उम्मेदवारमा देवीराम अर्याललाई अगाडि सार्ने सम्भावना छ ।
अघिल्लो चुनावमा २ हजार मत ल्याएर अर्याल तेस्रो स्थानमा थिए ।
माओवादीले उस्तै परे एमालेसँग पनि तालमेल गर्न सकिने भन्दै कांग्रेसमाथि दबाब बनाउने रणनीति समेत अख्तियार गरेको छ ।