०९ साउन २०८३, शनिबार

नेपाल-चीन द्विपक्षीय बैठक सिंहदरबारमा शुरू, विभिन्न ९ सम्झौतामा हस्ताक्षर हुने

नेपाल-चीन द्विपक्षीय बैठक सिंहदरबारमा शुरू, विभिन्न ९ सम्झौतामा हस्ताक्षर हुने

सिंहदरबारमा नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय द्विपक्षीय बैठक शुरू भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा द्विपक्षीय बैठक बसिरहेको छ ।

द्विपक्षीय बैठकपछि दुई देशबीच विभिन्न ९ वटा समझदारीपत्रमा हस्ताक्षर हुने तय भएको छ । आर्थिक तथा प्राविधिक सहयोग, प्रसारण लाइनको सम्भाव्यता अध्ययन, चिनियाँ स्वास्थ्यकर्मीको टोलीले नेपालमा सेवा प्रवाह गर्ने सम्बन्धी समझदारीपत्र मुख्य छन् । 

त्यसबाहेक, खोप हस्तान्तरण, मर्मत सम्भार एवम् स्तरोन्नति गरिएको अरनिको राजमार्ग हस्तान्तरण लगायतको विषयमा पनि हस्ताक्षर हुने बताइएको छ ।

द्विपक्षीय बैठकमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का नेतृत्वको २५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी छ भने चिनियाँ विदेशमन्त्री वाङ यीले नेतृत्व गरेको १७ सदस्यीय प्रतिनिधि मण्डल बैठकमा सहभागी भएको छ ।

नेपालको तर्फबाट परराष्ट्र मन्त्रीको नेतृत्वमा परराष्ट्र, अर्थ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव सहभागी भएका छन् । त्यसैगरी, उद्योग वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव पनि द्विपक्षीय बैठकमा सहभागी छन् । 

उनीहरूसहित परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू पनि द्विपक्षीय बैठकमा सहभागी छन् ।

चीनको तर्फबाट विदेशमन्त्री वाङको नेतृत्वमा नेपालका लागि चीनका राजदूत हउ यान्छी, चीनको विदेश मन्त्रालयका सहसचिव वु जिङवाओ, वाणिज्य मन्त्रालयका सहसचिव शेङ कुपिङ, विदेश मन्त्रालयको एशियाली मामिला विभागका महानिर्देशक लिउ जेनसङ, नायब शिष्टाचार महानिर्देशक सोङ जिया र विदेशमन्त्री वाङका सचिव देङ झेइसहित १७ सदस्यीय प्रतिनिधि मण्डल रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्