
इटहरी, २२ मंसिर — जतिबेला नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताहरू ‘तरकारीवाली’ को चासो र चर्चामा व्यस्त थिए, त्यहीबेला धरानका मोदनाथ पौडेल र इटहरीका विपीन कार्की भने एउटा कुपोषित मधेसी युवाको हुलिया पत्ता लगाउन व्यस्त थिए । फेसबूकमा आएको सूचना अनुसार सप्तरीको युवा भन्ने थियो तर ठ्याक्कै ठेगाना भने थाहा थिएन ।
एउटा कुपोषणग्रस्त हाडमात्रै दखिने युवाको निन्याउरो र ख्याउटे तस्वीर सामाजिक सञ्जालमा आएपछि पोषणविज्ञानका विद्यार्थीहरू पौडेल र कार्कीको ‘निद हराम’ भयो । उनीहरू लागे शम्भुराम नामको कुपोषित सप्तरीको दलित युवाको ठेगाना खोज्न । उनीहरू कस्सिए शम्भुको सहयोगमा ।

आफ्ना सबै सञ्जालहरू सदुपयोग गरेर अन्ततः शम्भुरामको ठेगाना पत्ता लाग्यो । दक्षिण सप्तरीको डाँडा गाविस वडा नम्बर ७ को बलिया गाउँमा शम्भुको घर भएको पत्ता लाग्यो । मागेर गुजारा चलाउने शम्भुको परिवारलाई कुपोषण रोकथामका उपायहरू र केही पौष्टिक खाद्यान्न किन्ने आर्थिक सहयोग दिन भनेर मंसिर १२ गते घर पुगे यी पोषण्विज्ञानका विद्यार्थीहरू । लखतरान भएर उनीहरू शम्भुको घर पुगेपछि थप पीडामा परे जब बुझे कि त्यहाँ पुगेकै दिन शम्भुको मृत्यु भएको रहेछ ।
आमा र बाबुले भर्खरै मात्रै शम्भुको सद्गत सकेर घर आएका रहेछन् । ‘सुन्दा यो कुनै दुःखद चलचित्रको कहानी जस्तो लाग्छ,’ धरानको केन्द्रीय प्रविधि क्याम्पसमा चार वर्षे पोषणविज्ञान सकेर थेसिस गर्दै गरेका पौडेलले भने, ‘तर यो वास्तविकता भयो र एउटा पोषणविज्ञानको विद्यार्थी भएको नाताले यसरी मधेसमा कुपोषणले मान्छे मरेको देख्दा पीडा हुन्छ ।’
शम्भुलाई कुपोषणबाट बचाउने प्रयास असफल भएपछि विद्यार्थीहरू पौडेल र कार्कीले सप्तरीको राजमार्गछेउको कञ्चनरूप नगरपालिकाको वडा नम्बर ५ को विष्णु मन्दिर आसपास र शम्भुकै गाउँ डाँडा गाविसको बलियामा समेत कुपोषण जाँच गरे । ‘न्युट्रिसनल एसेसमेन्ट’ भनेर प्राविधिक भाषा प्रयोग हुने कुपोषण जाँचले गाउँमा कुपोषणको भयावह अवस्था देखायो । ‘हामीले लिएका आठवटा नमुना जाँचमा पाँच बालबालिकाहरू कुपोषित भएको पायौं,’ पौडेलले भने ।
यसरी गाँउका बालबालिकाहरू कुपोषित हुने र शारीरिक रूपमा दुर्बल र अकालमै ज्यान जाने जोखिम देखेका पोषणविज्ञानका विद्यार्थीहरूले शम्भुको परिवारलाई आर्थिक सहयोग गर्ने निधो गरे । शम्भुकै गाउँका अन्य मध्यम शीघ्र कुपोषण तथा शीघ्र कुपोषण पीडित मधेशी दलित र गरीब बालबालिकाका अभिभावकहरूलाई पौष्टिक खाद्यान्न वितरण गर्न अभियान सञ्चालन गरे ।

शम्भु परिवारलाई आर्थिक तथा खाद्यान्न सहयोग गर्न सामाजिक सञ्जालमा कार्यक्रम शुरू गरे । ‘सप्तरीमा कुपोषणविरुद्ध हाम्रो अभियान’ नाम दिएको समूहको नाम ‘युनाइट फर शम्भु फेमिली टीम’ राखे । ३३ हजार हाराहारीको पैसा उठ्यो । सोही रकमले शम्भुको परिवारलाई एउटा पाठो, ७ हजार नगद, न्यानो लत्ताकपडा र एक गाडी खाद्यान्न बोकेर पौडेल र कार्कीसहितको समूह सोमवार सप्तरी पुग्यो । उनीहरूको अभियानलाई सहयोग गरे क्याम्पस प्रमुख धनबहादुर कार्की र पोषणविज्ञानका विभागीय प्रमुख डम्बरबहादुर खड्काले । क्याम्पसले गाडी उपलब्ध गरायो ।
थामिएनन् शम्भुका आँसु
पोषण विद्यार्थीको समूह सोमवार सहयोगार्थ शम्भुको घर पुग्दा शम्भुका बाउले आँसु थाम्न सकेनन् । एउटा लाठीले उभिनुपर्ने बुढो जिउ र त्यसमा जवान छोराको मृत्यु । यी सबै कुराले पीडित थिए ५५ वर्षीय देव नारायण राम । कुपोषण पीडित छोराको उपचार गर्न के के गरेनन् रामले । उनले गाविसलाई सहयोग मागे, तर पाएनन् । आफूले भोट हालेका सप्तरी क्षेत्र नम्बर ७ का माओवादी केन्द्रका सभासद अमर मण्डल भेट्न खोजे, तर भेटेनन् । छिमेकीसँग भीखसमेत मागे छोराको उपचार गर्न ।
समाजका अगुवासँग चन्दा मागेर छोरालाई धरान, विराटनगर र काठमाडौंसम्मको उपचारमा यात्रामा लगे । १२ धुरमात्रै जग्गा भएका रामले ८ धुर जग्गा पाँच वर्षअघि ४० हजारमा बेचे । त्यो सबै पैसाले पनि छोराको ज्यान जोगाउन सकेन । देवनारायणको घर सप्तरीको मौली–हनुमाननगरको सडक खण्डमै पर्छ । उनको घरबाट १५ मिनेटमा सप्तरी क्षेत्र नम्बर ७ का सभासद अमर मण्डलको घर पर्छ ।
यस्तो सुगम ठाउँमा बसेर पनि रामले छोरा बचाउन सकेनन् । कारण – गरीबीका कारण उनकी श्रीमतीले छोरा गर्भावस्थामा हुँदा पौष्टिक खाना खाइनन् र जन्मेपछि पनि छोराले पौष्टिक तत्व खान पाएनन् । छोराको सद्गत गर्न समेत आर्थिक अभाव भोगेका देवनारायणले पोषणविज्ञानका विद्यार्थीबाट एउटा बाख्राको पाठो, सात हजार नगद र पर्याप्त खाद्यान्न आफ्नै आँगनमा आएको देखेपछि भावुक हुँदै भने, ‘शम्भुले औषधी र दूध पनि राम्रो खान पाएन । हामी गरीब छु, कहाँबाट ल्याउने?’ गरीब जनताको मुक्तिका लागि भन्दै संघर्ष गरेको माओवादीका तीनाजना सांसद भएपनि जिल्लामा गरीबहरूको पक्षमा केही नगरेको उनको गुनासो छ ।
कुपोषणबाट बच्चालाई कसरी बचाउने ?
‘बच्चा गर्भमा रहेको दिनदेखि जन्मेर दुई वर्षको हुन्जेल पर्याप्त पौष्टिक तत्व आमा र बच्चाले पाउनुपर्छ,’ केन्द्रीय प्रविधि क्याम्पस धरानका पोषण विभागका प्रमुख डम्बरबहादुर खड्काले भने, ‘यो अवधिलाई सुनौला हजार दिन समेत भनिन्छ । यही अवधिमा शम्भुले पर्याप्त पोषण नपाएर ज्यान गएको हुनुपर्छ ।’
आफ्ना विद्यार्थीहरूले गरेका विभिन्न थेसिसले पूर्वी तराईका झापा, मोरङ र सुनसरीमा कुपोषण देखिएको बताएका खड्काले सप्तरीको अवस्था भने निक्कै भयावह भएको बताए । ‘खाना खाने तरिका नजानेर अथवा गरीबीले खानेकुराकै अभावका कारण तराईमा कुपोषण हुने देखिएको छ,’ बेल्जियममा पोषणविज्ञानमा स्नातकोत्तर गरेका विभागीय प्रमुख खड्काले भने, ‘अब सरकार र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी निकायले सप्तरीका दलित र सीमान्तीकृत समुदायलक्षित पोषण कार्यक्रम ल्याउनैपर्छ ।’

शम्भुको परिवारलाई सहयोग गर्न र बलिया गाउँका कुपोषित बालबालिकालाई सर्वोत्तम पीठो र अन्य पौष्टिक आहार वितरण कार्यक्रममा विद्यार्थी तथा विभागीय प्रमुखसँगै पुगेका थिए क्याम्पस प्रमुख धनबहादुर कार्की । कार्कीले त सरकार र आईएनजीओहरू गैरजिम्मेवार भएरै सप्तरीमा यस्तो कुपोषणको भयावह अवस्था आएको बताए ।
‘उता राजधानीमा हजारौं र लाखौं रकममा कुपोषण बारेका सेमिनारहरू तारे होटलमा हुन्छन्,’ स्थानीयलाई सम्बोधन गर्दै कार्कीले भने, ‘त्यस्ता कार्यक्रमहरू लाखौंमा सकिन्छन् तर यता शम्भुहरू भने केही हजारमै सम्भव आमाले भिटामियुक्त खानेकुरा खान नपाएर र जन्मेपछि पौष्टिक आहारा नपाएर मरिरहेका छन् ।’
सप्तरीको कुपोषण निर्मूलन अभियान चलाउने मोदनाथ पौडेल र विपीन कार्की भने सरकार र आईएनजीओहरूले काभ्रे, नुवाकोटतिर कुपोषणविरुद्ध कार्यक्रमहरू चलाएपनि सप्तरी र अन्य भित्री मधेसका कुपोषणग्रस्त क्षेत्रहरूमा ध्यान नदिएकोमा आक्रोश पोख्छन् । ‘काभ्रे र नुवाकोट काठमाडांै नजिक भएर त्यता पोषणका कार्यक्रम चलाइएको छ,’ पौडेल प्रश्न गर्छन्, ‘सप्तरीले चाहिँ जतिसुकै दुःखद अवस्था भएपनि पोषणका कार्यक्रम किन पाउँदैन ?’
अभियाकनकर्मी विपीन कार्कीले सरकारले सप्तरी जस्ता कुपोषणग्रस्त तराईका जिल्लामा पोषण कार्यक्रमहरू ल्याएमा पढ्ने विद्यार्थीहरूले स्वयंसेवा गर्ने र पास भएकाहरूले तलबी काम गर्न तयार भएको बताउँछन् । उनी भन्छन्, ‘नेपालमा धरानको हाम्रै क्याम्पसमा मात्रै पोषण विज्ञानको पढाई हुन्छ र हामी सरकारका कुपोषण निमूर्लन अभियानमा साथ दिन तयार छौं । तर के सरकार हाम्रो आवाज सुन्न तयार छ ?’
उता पौडेलले भने आफूहरूको क्षमताले भ्याएको कुपोषणका नमुना संकलन, शम्भु परिवारलाई सहयोग र कुपोषित बालबालिकाका गरीब अभिभावकहरूलाई सर्वोत्तम पीठो वितरण गरेपनि यो सबै सानो शुरूवात मात्रै भएको बताए । पौडेल प्रश्न गर्छन्, ‘हामी दुईजना लाग्दा त नमुना संकलन र सामान्य सहयोग गर्न सक्यौं भने राज्यै लागेमा कसरी मधेसका थुप्रै शम्भुहरूलाई बचाउन नसकिएला ?