
नेपाल भ्रमणमा रहेका चिनियाँ विदेश मन्त्री वाङ यी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटमा दुई देशका कम्युनिष्ट पार्टीको सम्बन्धका बारेमा चर्चा भएको छ ।
काठमाडौंको नक्सालस्थित मेरियट होटलमा आइतवार चिनियाँ विदेशमन्त्री नेतृत्वको प्रतिनिधि मण्डल र माओवादी केन्द्रका नेताहरूबीच भेटवार्ता भएको थियो ।
भेटको अवसरमा प्रचण्डले नेपालमा बीआरआई कार्यान्वयनका लागि पहल गरिदिन चिनियाँ विदेशमन्त्री वाङ यीलाई आग्रह गरेका थिए ।
त्यसबाहेक भेटमा दुई देशका कम्युनिष्ट पार्टीको सम्बन्धबारे पनि कुराकानी भएको भेटमा सहभागी माओवादी केन्द्रका नेता शक्ति बस्नेतले बताए ।
वाङले माओवादी केन्द्रको अध्यक्षमा पुनः निर्वाचित भएकोमा प्रचण्डलाई बधाई र शुभकामना दिएको बस्नेतले जानकारी दिए ।
‘दुई देशका कम्युनिष्ट पार्टीबीच भएको सम्बन्धबारे कुरा भयो । हाम्रो पार्टी अध्यक्षलाई अध्यक्षमा निर्वाचित भएकोमा चिनियाँ कम्युनिष्ट पार्टी र राष्ट्रपतिको तर्फबाट उहाँले शुभकामना दिनुभएको थियो,’ बस्नेतले भने ।
भेटको अवसरमा नेपालमा कोरोना महामारी नियन्त्रणमा चीनले गरेको सहयोग र नेपालको विकास आयोजनामा चीनबाट भइरहेको सहयोगको लागि प्रचण्डले धन्यवाद दिएको बस्नेतले बताए ।
साथै भेटमा वाङले नेपालले आफ्ना दीर्घकालीन हितबारे लिने निर्णयको चीनले सधैँ सम्मान गर्ने पनि बताएको बस्नेतले जानकारी दिए ।