२३ असार २०८३, मंगलबार

कांग्रेसमा अधिकांश शीर्ष नेता तालमेलको पक्षमा, शेखर समूह विपक्षमा

चैत १४, २०७८
कांग्रेसमा अधिकांश शीर्ष नेता तालमेलको पक्षमा, शेखर समूह विपक्षमा

नेपाली कांग्रेसका अधिकांश शीर्ष नेता आगामी स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनमा आबद्ध दलबीच चुनावी तालमेलको पक्षमा उभिएका छन् ।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी तालमेलका पक्षमा प्रस्ट छन् । उनले गठबन्धन आबद्ध दलबीच आवश्यकताको सिद्धान्तका आधारमा तालमेल हुने बताउँदै आइरहेका छन् । यो विषयमा शीर्ष नेताले जारी केन्द्रीय समिति बैठकमा मुख खोल्दै गएका छन् ।

शेखरलाई विमलेन्द्रको साथ

सभापति देउवासँगै नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला र नेतृ सुजाता कोइराला पनि सत्ता गठबन्धन आबद्ध दलबीच चुनावी तालमेलको पक्षमा उभिएका छन् ।

तर, कांग्रेसको गत मंसिरमा सम्पन्न १४औं महाधिवेशनबाट संस्थापन इतर पक्षको नेतृत्व सम्हाल्दै आएका नेता डा. शेखर कोइराला भने कांग्रेस कसैसँग तालमेल नगरी एक्लै निर्वाचनमा अघि बढ्नुपर्नेतर्फ जोड दिँदै आइरहेका छन् । उनले कांग्रेसले अरूको साथ खोजेर अघि बढ्ने हो भने भारतीय कांग्रेस पार्टी कांग्रेस आईको जस्तो अवस्थामा खुम्चिन पुग्ने चेतावनीसमेत दिँदै आएका छन् ।

यसैगरी १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार बनेर मैदानमा होमिएका नेता विमलेन्द्र निधिसमेत तालमेलको विपक्षमा छन् । उनले कांग्रेसले कसैसँग तालमेल नगरी एक्लै निर्वाचनमा अघि बढ्नुपर्ने धारणा राखेका छन् ।

स्थानीय तह निर्वाचनको तयारी, दलबीच तालमेल, संसदीय समिति गठनलगायतका विषयमा कांग्रेसले गत शुक्रबारबाट केन्द्रीय समिति बैठकमा छलफल गर्दै आइरहेको छ ।

बैठकमार्फत नै कांग्रेसले आगामी निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा स्थानीय तह निर्वाचनका लागि ७७ वटै जिल्लामा पार्टीका तर्फबाट खटिएका केन्द्रीय प्रतिनिधिसँग पनि राय लिइरहेको छ ।

यसैगरी, कांग्रेसले सातै प्रदेशका पार्टीका प्रदेश सभापतिसँग समेत स्थानीय तहको निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा राय लिएको छ ।

महानगरमा केन्द्रबाटै तालमेल, अन्यमा तलैबाट

नेपाली कांग्रेसले स्थानीय तहको सबैभन्दा ठूलो संरचना महानगरपालिकामा केन्द्रबाटै चुनावी तालमेलबारे निर्णय गर्ने तयारी गरेको छ । कांग्रेस केन्द्रीय समितिलाई विधानले समेत त्यो अधिकार दिएको छ ।

यसैगरी, उपमहानगरपालिका, नगरपालिका तहमा पनि केन्द्रीय नेतृत्वसँगको रायबाट उम्मेदवार तय गर्ने विषयमा कांग्रेस अघि बढेको छ भने गाउँपालिका तहमा स्थानीय राजनीतिक नेतृत्वसँगको सहमतिका आधारमा तालमेलबारे निर्णय गर्ने कांग्रेसको तयारी छ ।

कांग्रेस विधानअनुसार महानगरपालिका प्रमुख–उपप्रमुखको केन्द्रीय संसदीय समितिले, नगरपालिका र उपमहानगरपालिका प्रमुख–उपप्रमुखको प्रदेश संसदीय समितिले, गाउँपालिका प्रमुख–उपप्रमुखको जिल्ला संसदीय समितिले र वडाध्यक्ष तथा सदस्यको प्रतिनिधिसभा क्षेत्र संसदीय समितिले उम्मेदवारको टुंगो लगाउनुपर्छ ।

विधानअनुसार संसदीय समितिले गर्ने निर्णयलाई सम्बन्धित कार्यसमितिले अनुमोदन गर्नुपर्छ । संसदीय समितिमा सम्बन्धित कार्यसमितिका पदाधिकारीका साथै सभापतिको प्रस्तावमा निश्चित संख्यामा सदस्य मनोनित गर्ने व्यवस्था छ ।

कांग्रेसले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका उम्मेदवार छान्न संसदीय बोर्ड बनाउँदै छ । विधानले १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र, ७७ जिल्ला, ७ प्रदेश र केन्द्रमा संसदीय समितिको परिकल्पना गरेको छ । कांग्रेस विधानअनुसार निर्वाचनका लागि उम्मेदवार छान्ने सबैभन्दा शक्तिशाली संरचना संसदीय समिति नै हो । यी विभिन्न तहमा गठन हुने समितिले तहगत रूपमा निर्वाचनका लागि उम्मेदवार छान्ने अधिकार राख्छन् ।

कांग्रेस विधानको धारा ३३ मा संसदीय समितिको गठनबारे उल्लेख छ । सो धाराको (१)मा कुनै पनि तहको प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन दर्ता हुने मितिभन्दा एक महिनापूर्व उम्मेदवारको अन्तिम निर्णय गरिसक्नुपर्ने उल्लेख छ । ती समितिले निर्वाचनका लागि उम्मेदवारी दर्ता हुनु एक महिनापूर्व नै अन्तिम निर्णय गरिसक्नुपर्ने विधानमा उल्लेख छ । राजधानी दैनिकमा महेश्वर गौतमले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्