२८ असार २०८३, आइतबार

चिन्डीमाया तामाङ यसरी भइन् विममाया

चैत १५, २०७८
चिन्डीमाया तामाङ यसरी भइन् विममाया
तस्वीर सौजन्य : राजधानी दैनिक

संखुवासभाको भोटखोला गाउँपालिका–४ की विममाया तामाङको नामबाट जालसाजी गरी ठगी गरेको भन्दै गत २२ फागुनमा जिल्ला प्रशासन कार्यालय संखुवासभामा उजुरी पर्‍यो ।

त्यस दिन भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष किङसाङ भोटे र मालपोत कार्यालयका नायब सुब्बा महेन्द्र पराजुलीसहित सातजनाविरुद्ध जालसाजी, कीर्ते र ठगी गरेको आरोपमा उजुरी परेको थियो ।

भोटखोला जग्गा प्रकरण

गत १ र २ फागुनमा स्थानीय दलबहादुर तामाङको नाममा रहेको करिब ३ करोड रुपैयाँ मुआब्जा आउने कित्ता नं. २७५ र २८० को २७ रोपनी जग्गा वडाध्यक्ष भोटे र मालपोत कार्यालयका नासु पराजुलीको मिलेमतोमा सो जग्गा हत्याउन षड्यन्त्र भएको देखिन्छ । जग्गा जालसाजी प्रकरणमा पक्राउ परेका वडाध्यक्ष भोटे मृतकको नाममा कीर्ते नागरिकताको प्रतिलिपि लिने काममा समेत संम्लग्न देखिएपछि जिल्ला प्रहरी कार्यालय संखुवासभाले थप अनुसन्धान थालेको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डीएसपी लालध्वज सुवेदीका अनुसार विममाया भनेर प्रस्तुत गरिएकी महिलाको अर्को पनि नागरिकता फेला परेको छ । जग्गा हत्याउने यस घटनाको केन्द्रमा विममाया तामाङको नाम आएको छ ।

को हुन् विममाया ? अहिले कहाँ के गर्दै छिन् विममाया ? विममाया र दलबहादुरबीच सम्बन्ध के थियो ? उनलाई दलबहादुरको निकटतम हकवाला कसरी ठह¥याइयो ? दलबहादुरको हकवाला चिन्डीमायाको नाममा जग्गा किन नामसारी गरिएन ? जग्गा नामसारी गर्न विममायालाई कसरी हकवाला ठह¥याइयो ? उमेरले ६० नाघेकी, निरक्षर, आँखाको दृष्टि मधुरो भएकी र सामान्य आवाजसमेत सुन्न कठिन दलबहादुरकी सहोदर छोरी चिन्डीमाया हुँदाहुँदै उनैलाई विममाया भनी जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रमाणपत्रको प्रतिलिपि किन निकालियो ? यस्ता यावत् प्रश्न खडा भएका छन् । डीएसपी सुवेदीका अनुसार अदालती प्रक्रियाबाट घटनाको अनुसन्धान भइहेको छ । जग्गा जालसाजी, कीर्ते नागरिकता काण्ड प्रकरणमा जोडिएका व्यक्तिबाट थप प्रमाण जुटाउने काम भइरहेको डीएसपी सुवेदीले बताए ।

को हुन् विममाया ?

चिन्डीमाया तामाङको नामको सो नागरिकताको प्रमाणपत्र जग्गा प्रकरणमा विममाया भनेर प्रस्तुत भएकी महिला स्वयं भएको पाइएको छ । गत २२ फागुनमा विममाया तामाङको नामबाट जालसाजी गरी ठगी गरेको भन्दै जिल्ला प्रशासन कार्यालय संखुवासभामा उजुरी गर्ने व्यक्ति नागरिकता प्रमाणपत्रबाहेक अन्यत्र कही भेटिएको छैन । अहिलेसम्म चिन्डीमाया नै विममाया भनेर प्रचारित छिन् ।

जन्म, विवाह, मृत्युलगायतका व्यक्तिगत घटना प्रमाणित गर्ने वडाध्यक्षले दलबहादुर तामाङको उत्तराधिकारी चिन्डीमायालाई विममाया भनेर सिफारिस र प्रमाणित कसरी भयो ? यो विषय रहस्यमय बनेको छ । अर्कोतिर सबै प्रमाणसहित सम्पूर्ण अंशियार स्वयं उपस्थित हुँदा समेत सामान्य अंशबन्डाको लिखत पारित गर्न हप्तौं लगाउने जिल्ला मालपोत कार्यालय र कार्यालयका कर्मचारीले ३६ घण्टाभित्रै मृतकको नामको जग्गा नामसारी गर्ने काम र राजीनामा रजिस्ट्रेसन पारित गर्ने काम भएको छ ।

जग्गाधनी दलबहादुर तामाङको २०५८ सालमा नै मृत्यु भइसकेको, सन्ततिका रूपमा एक मात्र छोरी चिन्डीमाया भए पनि विममायालाई उत्तराधिकारी बनाई विममायाको नाममा जग्गा नामसारी गरिएको देखिएको छ । १ फागुनमा विममायाको नाममा जिल्ला प्रशासन कार्यालय संखुवासभाबाट नागरिकताको प्रमाणपत्रको प्रतिलिपि निकालियो ।

२ फागुनमा सोही नागरिकताको प्रमाणपत्रको प्रतिलिपिमा उल्लेखित विममायाको नाममा मालपोत कार्यालयबाट दलबहादुरको नाममा दर्ता कायम रहेको ६ कित्ता जग्गा नामसारी गरियो ।

त्यसैदिन विममायाको नाममा नामसारी भइआएका ६ कित्ता जग्गामध्ये अधिग्रहणमा परेका दुई कित्ता जग्गा कित्ता नम्बर २८० को करिब २४ रोपनी जग्गा कल्पना भोटे र ङिमा लाजुङ भोटेको संयुक्त नाममा र कित्ता नम्बर २७५ का करिब तीन रोपनी जग्गा पासाङ शेर्पाको नाममा राजीनामा रजिस्ट्रेसन गरी जग्गाको रजिस्ट्रेसन पास गराइयो ।

भोटखोला गाउँपालिकाभित्र निर्माण हुन लागेको माथिल्लो अरुण जलविद्युत् आयोजनाले आयोजनालाई आवश्यक पर्ने जग्गा अधिग्रहण गर्न अधिग्रहणमा परेका जग्गाको कित्ता नम्बर र क्षेत्रफलसहितको सूचना प्रकाशन गरेपछि यो घटनाको बिजारोपण भएको मानिन्छ ।

यस प्रकरणमा अहिले भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष किङसाङ भोटे, भोटखोला वडा नम्बर–४ कै सुरेन्द्र तामाङ, कल्पना भोटे, ङिमा लाजुङ भोटे मालपोत कार्यालय संखुवासभा खाँदवारीका नायव सुब्बा महेन्द्रपराजुली, मकालु गाउँपालिका–४ का अनिस गुरुङ र चैनपुर नगरपालिकाका पासाङ शेर्पा प्रहरी नियन्त्रणमा छन् । राजधानी दैनिकमा भविन कार्कीले‍ खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्