
कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले प्रदेश १ का १३७ स्थानीय तह र प्रदेश २ का सप्तरी र सिराहा जिल्लामा मंगलवारदेखि डीएपी मल वितरण गर्ने भएको छ ।
त्यसका लागि कृषि सामग्री कम्पनी लिमिटेडका डिलरहरूलाई पत्राचार गरिँदै छ । मल लिन आउने पत्र प्राप्त भएपछि डिलरहरूले मल सम्बन्धित गाउँ पालिकासम्म पुर्याउनेछन् । डिलर नभएका स्थानमा स्थानीय किसान सहकारीमार्फत मल वितरण हुनेछ ।
दुई महीनादेखि विराटनगरमा रहेको कृषि सामग्रीको गोदाममा ७० हजार बोरा अर्थात् ३५०० टन मल स्टक थियो । यो टेन्डरमार्फत नेपाल सरकारले मगाएको मल हो ।
कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयका निमित्त प्रमुख कृष्ण लामिछानेले वितरणको आदेश आएकाले अहिले गोदाममा आएको ३५०० टन मल वितरणको प्रक्रिया अघि बढाइएको बताए ।
अझै थप ३० हजार बोरा १५०० टन मल आउन बाँकी रहेको उनको भनाइ छ । संघीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट वितरणको अनुमति आएको र अहिले प्रदेशको कृषि मन्त्रालयले समेत वितरणका लागि सहजीकरण गरिदिएकाले वितरण प्रक्रिया अघि बढाइएको हो । आर्थिक अभियान दैनिकमा वेदराज पौडेलले खबर लेखेका छन् ।