इटहरी, २५ असार - ‘आज पनि चुनावको विजय उत्सब मनाइयो कि क्या हो भाइ?’ एमालेको विद्यार्थी संगठन अनेरास्ववियु सुनसरीका अध्यक्ष जीबी गजललार्इ कोशी ड्राइभिङ संघका अध्यक्ष बाबुराम प्रधानले आइतवार प्रश्न गरे ।

इटहरी चौकको एक कुनामा रहेको चिया पसलमा गफिएका प्रधानलाइ गजलले भने, ‘के को हुनु नि बिजय जुलुस दाइ, आज त गुरुपुर्णिमा हो जनता क्याम्पसका सर म्याडमहरुलार्इ सम्मान गरेको आएको ।’
गजलले गुरुलार्इ सम्मान गरेको प्रशंग सुनेका प्रधानले पनि तत्कालै गुरु पुर्णिमा मनाउने निर्णय गरे । यस अगाडि कहिल्यै गुरु पुर्णिमामा गुरुलाइ भेटेर नमानेका प्रधानले यो पटक गुरुपुर्णिमा मनाउने निर्णय गरे । आफूलाइ इटहरीमा विद्यालयको कोर्ष पढाँउने गुरुहरुलार्इ नभएर ड्राइभिङ सिकाँउने गुरुलाइ नै सम्मान गर्ने निधो गरे प्रधानले ।
निर्णय त गरे तर गुरु भेट्न गाह्रो थियो प्रधानलार्इ । बर्षौदेखि मधिरा र लागुऔषतको कुलत छुटाँउने सुधार केन्द्रमा थिए प्रधानका गुरु नारायण बजगाँइ । तिनै बजगाँइ जसले २०४५ सालताका बाबुराम प्रधानलाइ ड्राइभिङ सिकाएका थिए ।
बजगाँइले चार दिन सिकाएको सिप आफूले दश बर्ष विद्यालय शिक्षा पास गरेको ज्ञान भन्दा ठूलो भएको प्रधानको बुझाइ छ । ‘उहाँले चार दिन सिकाएको कुराले मेरो बाँकी जिवनको भाग्य र भविष्य निर्धारण गर्यो’, प्रधान भन्छन, ‘आज इटहरीमा पाँच तले घर हुनु, पुर्वकै प्रतिष्ठित अन्डरग्राउण्ड ड्राइभिङ सेन्टरको संचालक हुनु र ड्राइभिङ क्षेत्रको कोशी अन्चलको अध्यक्ष सम्म भएर सामाजिक र आर्थीक पाटो सुधार हुनुमा म बजगाँइ दाइलाइ नै जस दिन्छु ।’
आफूलाइ सिप सिकाँउने गुरुको महत्व बुझेपनि प्रधानलाइ गुरु खोज्न भने तनाव भयो । इटहरीको एक सुधारगृहमा छन भनिएका गुरु खोज्न इटहरीको बिहानै सिमसिमे पानीमा सबै जसो सुधार गृहहरु चहारे प्रधानले । तीन वटा सुधारगृहरु चहारेपछि मात्रै बजगाँइ बसेको फेलोसिप फाउन्डेसन भन्ने सुधार गृह फेलापर्यो । र फेला परे नारायण बजगाँइ ।

पातलो शरीर, चुस्स जुँगा, काम्ने हातगोडा र सुस्तरी बोल्ने बजगाँइलाइ सुधारगृहको च्याम्बरबाट बोलाइयो । बजगाँइ सामुन्ने आँउनासाथ दुइ हात जोडेर आफ्नो गुरु ‘गिफ्ट’ थपाएका प्रधानलाइ बजगाँइले झण्डै चिनेनन । केहि वाक्यहरु बोलेपछि भने प्रधानलाइ बजगाँइले चिने र मुस्कुराए । दशक बढि सुधारगृहमा रहेका कुनै बेलाको इटहरीको चर्चित फरेन ड्राइभिङ सेन्टरका मालिक बजगाँइ खुशीले उज्याला भए ।
केहि बेर सन्चोविसन्चोका कुराहरु सकिएपछि बजगाँइले प्रधानले ल्याइदिएका मिठाइ सबैले खाँउ भने । प्रधानले भने बजगाइको मिठाइ भएकोले आफु र साथिहरुलाइ बाँडेर खान भने । त्यति भनेपछि चौसट्ठि बर्षिय बजगाँइ खुशी भएर मिठाइ खान थाले ।
बजगाँइलाई नमस्कार गरेर प्रधान निस्के । गेट बन्द भएपछि बजगाँइले मिठाइको प्याक सुमसुम्याउन थाले । प्रधान भने आफ्नो रातो रंगको चारपांग्रेमा आफ्नो कर्मक्षेत्रमा फर्के । उनी भन्दैथिए – ‘आज चै साँच्चै गुरु पुर्णिमा नै आएको जस्तो लाग्यो । यो सबको लागी अनेरास्ववियु नेता गजललाइ धन्यवाद भन्नैपर्छ ।’