अमेरिकाका राष्ट्रिय सुरक्षा उपसल्लाहकार दलीप सिंहले रुसको सहयोग गरेकोमा भारतलाई चेतावनी दिएका छन् ।
भारत र अमेरिकाबीच हुन लागेको आर्थिक तथा रणनीतिक साझेदारी सम्बन्धी २ जोड २ बैठकअघि सिंह भात पुगेर चेतावनी दिएका हुन् ।
सुरक्षाका विषयमा बोल्दै सिंहले रुसलाई भारतले समर्थन गर्नु तथा रुसबाट व्यापक मात्रामा तेल ल्याउनु आत्मघाती भएको बताए । रुसविरुद्ध अमेरिकाले लगाएको प्रतिबन्धका एक योजनाकार सिंह पनि हुन् ।
उनले भने, ‘चीन र रुसले सीमाहीन सहयोगको कुरा गरेका छन् । उनीहरूबीचको सम्बन्धमा रुस कनिष्ठ सहयोगी हो । कथंकदाचित् वास्तविक नियन्त्रण रेखामा चीनले भारतलाई पुनः आक्रमण गरेछ भने भारतलाई बचाउन रुस आउँदैन ।’
दलीप सिंहले यसरी भारतलाई रुसको विषयमा चेतावनी दिनु भिक्टोरिया नुल्यान्डको भनाइबाट विपरीत छ ।
गत साता भारत पुगेकी अमेरिकी परराष्ट्र मन्त्रालयउकी अन्डर सेक्रेटरी नुल्यान्डले भारत, युरोप तथा अन्य सहयोगीहरूले रुसबाट तत्कालै ऊर्जा आयात घटाउन नसक्ने र त्यसका लागि समय लाग्ने बताएकी थिइन् ।
त्यसैले सिंहले रुसबाट भारतले गरेको तेल आयातका विषयमा चिन्ता व्यक्त गर्नु र त्यसलाई भविष्यमा आउन सक्ने नकारात्मक परिणामसँग जोड्नु आश्चर्यजनक छ ।
त्यसमाथि भारतले रुससँग युरोपले जति तेल आयात गरिरहेको पनि छैन । अझ युक्रेन युद्ध शुरू भएपछि युरोपले रुससँग मार्च महिनामा फेब्रुअरीको भन्दा ५० प्रतिशत बढी तेल आयात गरेको छ ।
भारतले रुसबाट ऊर्जा र रक्षा सामग्रीको आयात घटाएमा अमेरिका र उसका सहयोगीहरूले त्यसको विकल्प उपलब्ध गराउने संकेत सिंहले दिएका छन् ।
तर सिंहले यो कुरालाई कूटनीतिक रूपमा नभई थर्काउने पाराले गरेकाले नयाँ दिल्लीले यसलाई सकारात्मक रूपमा लिने देखिँदैन ।