०९ साउन २०८३, शनिबार
स्थानीय चुनावको सरगर्मी

जनकपुर उपमहानगरको चुनावी चर्चा : कुन पार्टीबाट को बन्दैछ उम्मेदवार ?

चैत १८, २०७८
जनकपुर उपमहानगरको चुनावी चर्चा : कुन पार्टीबाट को बन्दैछ उम्मेदवार ?

मधेश प्रदेशको राजधानीमा अवस्थित जनकपुरधाम उपमहानगरपालिकामा चुनावी सरगर्मी बढेको छ । विभिन्न राजनीतिक दलबाट उम्मेदवार बन्न आकांक्षीहरूले प्रचारप्रसार शुरू गरिसकेका छन् ।

जसपा, नेपाली कांग्रेस, लोसपा, नेकपा एमाले जनकपुरमा मुख्य प्रतिस्पर्धामा छन् । दलहरूले उपमहानगरका सबै वडामा संगठन विस्तार गर्नेदेखि घरदैलोसम्मका काम शुरू गरिसकेका छन् ।

अधुरो काम पूरा गर्न उम्मेदवारी दिन्छु : मेयर साह

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले फेरि पनि उम्मेदवारी दिने बताएका छन् ।

साविकको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट निर्वाचित साह अहिले जसपामा छन् । उनले २१ हजार ९३ मत ल्याएर जीत हात पारेका थिए ।

विद्यार्थीकालमा नेपाली कांग्रेसबाट राजनीति शुरू गरेका साह राम स्वरूप रामसागर बहुमुखी क्याम्पसको स्ववियु सभापति समेत भएका थिए ।

पछि जनकपुर नगरको उपमेयर भएका साह कांग्रेस परित्याग गरेर सद्भावना पार्टी हुँदै राजपामा समाहित हुन पुगे ।

राजपा र सपा मिलेर जसपा बन्दा उनी पनि त्यही पार्टीमा क्रियाशील भए । पछि जसपा फुटेर लोसपा बन्दा भने उनी पूर्व सहकर्मीहरूसँग गएनन् ।

हाल उनले जसपाकै तर्फबाट मेयर पदका लागि दाबेदारी प्रस्तुत गर्न चाहेका छन् ।

'पार्टीको निर्णय नै अन्तिम हुन्छ । पार्टीले मलाई फेरि पनि मौका देओस् भन्ने चाहन्छु,' साहले लोकान्तरसँग भने, 'जसपाले जितेको हुनाले गठबन्धन हुँदा पनि स्वाभाविक रूपमा जसपाले नै जनकपुरधाम उपमहानगर पाउनुपर्छ।'

५ वर्षका लागि निर्वाचित भएपनि ३ वटा बजेट मात्र बनाउन पाएको उनले बताए।  पुरानो जनकपुरधामलाई रुपान्तरण गर्न खेलेको भूमिकालाई मध्यनजर गर्दै आफूले नै टिकट पाउनुपर्ने दाबी उनको छ ।

सडक स्तरोन्नति गरेको, वडा नम्बर ५ लाई स्मार्ट वडा बनाउने काम शुरू गरेको, अरू वडामा पनि विस्तारको योजना रहेको, जनकपुर विमानस्थलदेखि रेल्वे स्टेसनसम्मका पूर्वाधार निर्माणमा भूमिका खेलेकाले आफूले टिकट पाउनुपर्ने जिकिर उनको छ ।

'मधेश प्रदेशको स्थायी राजधानी भएपनि त्यसअनुसार शहर विकास गर्न बाँकी नै रहेकाले बाँकी काम पूरा गर्न मेरो उम्मेदवारी हुन्छ,' उनले थपे, 'कार्यकारी पदको अनुभव पनि नहुँदा धेरैजसो गर्नुपर्ने काम गर्न सकिएन । अब अनुभव पाइसकेको हुनाले अधुरो काम पूरा गर्नेछु।'

साहले दावी गरे पनि उनको कार्यकालमा शहरको फोहोरमैला व्यवस्थापन, सरसफाइ, लामखुट्टे नियन्त्रण आदिमा केही काम हुन सकेको छैन। उनको कार्यकालमा उपमहानगरमा करोडौं करोडका योजनामा भ्रष्टाचार भएको आरोप आलोचकहरूले लगाउने गरेका छन् ।

जसपा अध्यक्ष उपेन्द्र यादवले मेयरको टिकट दिने पक्कापक्की गरेकै कारण जसपा रोजेको चर्चा पार्टी पंक्तिमा छ । साहका अतिरिक्त उक्त पार्टीबाट यसअघिका मेयर पदका उम्मेदवार विष्णुदेव साहले पनि टिकटको आकांक्षा राखेका छन् । गत स्थानीय निर्वाचनमा संघीय समाजवादी फोरम नेपालबाट उनले टिकट पाएका थिए । ३ हजार ६१२ मत ल्याएर उनी चौथो स्थानमा खुम्चिए । उनी तत्कालीन अवस्थामा पनि उक्त पार्टीको नगर अध्यक्ष थिए । अहिले जसपा हुँदा पनि जनकपुर उपमहानगरका अध्यक्ष छन्।

'पछिल्लो स्थानीय तहको निर्वाचनका बेला पार्टीको संगठन खास विस्तार हुन सकेको थिएन, एकदम कमजोर अवस्थामा थियो,' साहले लोकान्तरसँग भने, 'त्यस्तो कमजोर अवस्थामा मैले चुनाव लडेको थिएँ भने ५ वर्षमा मैले संगठन विस्तार गरेर पार्टीलाई उपमहानगरमा बलियो बनाएको हुनाले पनि मेयर पदमा मेरो स्वाभाविक दावेदारी छ।'

बहालवाला मेयर जसपामा समायोजित भएको अवस्थामा पनि आफ्नो दाबी रहेको उनको भनाइ छ । 'मेरो दाबी छ, रहिरहन्छ, त्यस आधारमा दिनरात पार्टीको काममा लागेको पनि छु,' उनले थपे, 'पार्टीमा मेरो दाबेदारी रहन्छ नै, म वा अहिलेको मेयर सा'बमध्ये पार्टीले जसलाई टिकट दिने निर्णय गर्छ, त्यो मलाई मान्य हुन्छ ।'

नेपाली कांग्रेसबाट पहिलेकै उम्मेदवार मनोज साहकै सम्भावना

नेपाली कांग्रेसबाट विगतमा मेयर पदमा उठेका मनोजकुमार साह सुडीले फेरि पनि उम्मेदवारी दिने आकांक्षा राखेका छन् । सुडीले ११ हजार १६४ मत ल्याएर दोस्रो भएका थिए ।

'विगतको स्थानीय निर्वाचनमा जनताले कांग्रेसलाई रनरअप बनाएर दोस्रो स्थानमा राखी प्रतिपक्षी भूमिका मलाई दिएको थियो,' सुडीले लोकान्तरसँग भने, 'त्यसकारण पनि अब कार्यकारी अधिकारसहितको भूमिका मलाई प्रदान गर्नेमा ढुक्क छु । यस कारण पनि मेरो उम्मेदवारी स्वाभाविक हो ।'

केही महिनाअघि सम्पन्न उपमहानगरको अधिवेशनबाट उनी दोस्रोपटक नगर अध्यक्षमा निर्वाचित भएका हुन् । ५ वर्षमा अहिलेको मेयरले उपमहानगरको फोहोरमैला व्यवस्थापन गर्न नसकेको उनले आरोप लगाए।

'एकीकृत शहरी विकास परियोजना अन्तर्गत स्यानिटरी ल्याण्डफिल साइट निर्माणका लागि ४८ करोड रुपैयाँ मेयर सा'ब जितेर आउनुअघि नै छुट्याइएको थियो,' उनले लोकान्तरसँग भने, 'तर उहाँ जितेको ५ वर्षसम्म पनि ल्याण्डफिल साइटको व्यवस्थापन गर्न असफल भएकै कारण जनकपुर शहर आज क्लिन जनकपुर हुन सकेको छैन।'

उनले मेयर साहलाई आर्थिक अनियमितताको आरोप पनि लगाए ।

नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियार पनि सुडी नै अहिलेसम्म मेयर पदका लागि प्रबल दाबेदार रहेको बताउँछन् ।

'अहिले नै हाम्रो पार्टीले निर्णय गरिसकेको छैन, दुई तीन दिनमा त्यस विषयमा निर्णय हुन्छ,' पञ्जियारले लोकान्तरसँग भने, 'अहिलेसम्मको अवस्था हेर्दा विगतका उम्मेदवार सुडीको सम्भावना नै प्रबल देखिन्छ ।'

यद्यपि पुराना नेताहरू किशोरी साह, दिगम्बर राय तथा केही नयाँ नेताले पनि आकांक्षा देखाएको उनले बताए ।

लोसपाबाट प्रदेश सांसद परमेश्वर साह सुडीको प्रबल सम्भावना

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबाट प्रदेश सभा सदस्य परमेश्वर साह सुडीको बलियो सम्भावना देखिएको छ। लोसपाको धनुषा जिल्ला अध्यक्ष समेत रहेका सुडीले मेयर पदका लागि आकांक्षा देखाएका छन्।

'मधेश प्रदेशको स्थायी राजधानी जनकपुरधाम बनाउनु पर्छ भन्ने कुरा प्रदेश सभामा प्रस्ताव गर्ने नै म थिएँ, ' सुडीले लोकान्तरसँग भने, 'त्यस हिसाबले अन्य राजनीतिक दलसँग समेत संवाद गरेर राजधानी बनाउन सफल भएँ । स्थायी राजधानी भए पनि जनकपुरधाम राजधानी जस्तो नभएको हुनाले अब राजधानीको स्तरको शहरका रूपमा विकास गर्नका लागि पनि मेयर पदमा उठ्ने चाहना राखेको छु ।'

लोसपाबाट मेयर पदमा अहिलेकी उपमेयर रितादेवी मिश्रले पनि दाबी गरेकी छिन् । 'हाम्रै पार्टीबाट जितेको मेयर सा'ब अन्य पार्टीमा गइसकेपछि मेयर पदमा मेरो दाबेदारी स्वाभाविक नै हो,' मिश्रले लोकान्तरसँग भनिन्, 'तर मैले चाहँदैमा पार्टीले टिकट दिन्छ भन्ने कुरा पनि हुँदैन । कसलाई उठाउँदा जित्न सकिन्छ भन्ने कुरा पनि हेर्नुपर्छ ।'

पार्टीले गर्ने निर्णय मान्य हुने उनले बताइन् ।

लोसपाबाटै मनोजकुमार चौधरीले पनि आकांक्षा राखेका छन्। उनी पार्टीको उपमहानगर अध्यक्ष पनि हुन् ।

'गत स्थानीय निर्वाचनमा नै मेयर पदको आकांक्षी हुँदाहुँदै पार्टीले अन्तिममा लालकिशोर साहलाई टिकट दिएर मलाई उहाँको कमान्डर बनायो, मैले उहाँलाई जिताउन भूमिका निर्वाह गरेको थिएँ,' चौधरीले लोकान्तरसँग भने, 'त्यसपछि प्रदेश सभा सदस्यमा पनि टिकटको प्रबल दावेदार थिएँ, तर त्यस बेला पनि प्रतिनिधि सभा सदस्य राजेन्द्र महतो र प्रदेश सभा सदस्य परमेश्वर साहलाई जिताएको थिएँ। अब मेयरमा मेरो स्वाभाविक दाबी हो ।'

यसपटक आफू पछाडि नहट्ने उनको दाबी छ ।

'पार्टीले मलाई उपमहानगर अध्यक्ष बनाएर त्यसको संकेत पनि दिएको हुनाले दिनरात संगठन विस्तार गर्दै त्यसै अनुसार तयारी गरिरहेको छु,' चौधरीले भने।

लोसपाबाट वडा नम्बर ७ मा वडाध्यक्ष जितेका जानकीराम साहले पनि मेयर पदका लागि आकांक्षा व्यक्त गरेका छन्।

'मैले वडाध्यक्षमा निर्वाचित भएपनि समग्र नगरमै संगठन विस्तार गर्दै आएको छु,' साहले लोकान्तरसँग भने, 'मैले आफ्नो दाबेदारी कायमै राखेको छु, छाड्ने कुरा हुँदैन।'

एमालेबाट शिवशंकर साहको सम्भावना

नेकपा एमालेबाट शिवशंकर साह(हीरा)को सम्भावना प्रबल देखिएको छ।

जनकपुर उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघ साविक २ नम्बर प्रदेशको अध्यक्ष समेत भइसकेका साहलाई एमालेले जनकपुर उपमहानगर प्रमुखको उम्मेदवार बनाउने सम्भावना रहेको चर्चा छ ।

'उपमहानगरको विभिन्न वडामा भइरहेका भेला, कार्यक्रम आदिमा समेत पार्टीको वडा कमिटी, नगर कमिटी लगायतले मलाई मेयरको उम्मेदवारको रूपमा नै घोषणा गरिरहनुभएको छ,' साहले लोकान्तरसँग भने, 'त्यस हिसाबले मैले प्रचार प्रसार समेत अगाडि बढाएको छु, पार्टीको औपचारिक निर्णय हुन मात्र बाँकी छ।'

एमाले मधेश प्रदेश कमिटीको सदस्य हुनुका साथ साथै उनी एमाले निकट नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघका राष्ट्रिय उपाध्यक्ष पनि हुन्।

साविकमा राजपाबाट मेयर पदका आकांक्षी रहेका उनले अन्तिममा टिकट नपाएपछि पार्टी परित्याग गर्दै एमाले रोजेका थिए ।

एमालेबाट उमेश चौधरीले पनि मेयर पदका लागि टिकट पाउने चाहना राखेका छन् ।

उनी विद्यार्थी राजनीति गर्दै मूल राजनीतिमा आएका हुन् । चौधरी स्ववियु सभापति समेत भइसकेका छन् ।

नेकपा माओवादी केन्द्रबाट चन्द्रशेखर साहको सम्भावना

नेकपा माओवादी केन्द्रबाट अहिलेसम्म जनकपुरधाम उपमहानगरमा कसैले पनि मेयरमा उठ्ने चासो देखाएका छैनन्।

माओवादी केन्द्रका अध्यक्ष दीपक यादव अहिलेसम्म कुनै पनि नेताले जनकपुर उपमहानगरमा मेयर पदका लागि चासो नदेखाएको बताउँछन्।

'अहिलेसम्म कसैले पनि चासो देखाउनु भएको छैन,' यादवले भने, 'गत स्थानीय तह निर्वाचनमा उठेकै उम्मेदवारलाई उठाउने कि भन्ने छलफल चलिरहेको छ।'

गत स्थानीय तहको चुनावमा माओवादी केन्द्रबाट चन्द्रशेखर साह उठेका थिए । २ हजार १२८ मत ल्याएर उनी पाँचौं स्थानमा रहे ।

नेकपा एसबाट अजयकुमार झाको सम्भावना

नेकपा एकीकृत समाजवादी पार्टीमा विगतमा एमालेबाट मेयर लडेका लक्ष्मी नारायण भगत र डा. अजय कुमार झा आकांक्षी छन्। गत स्थानीय चुनावमा भगत ४ हजार ८ सय ६५ मत ल्याएर तेस्रो स्थानमा रहेका थिए ।

'अधिकांश पार्टीमा साहुजी समुदायबाट नै उम्मेदवार हुने भएकाले हाम्रो पार्टीबाट यसपटक गैर साहुजी उम्मेदवारको रूपमा डा.अजय कुमार झालाई उपमहानगरको मेयरमा अगाडि सार्ने रणनीति बनेको छ,' नेकपा एसको जिल्ला कमिटीका एक नेताले भने ।

यी उम्मेदवारका बाहेक जनमत पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टीले पनि उम्मेदवार उठाउने तयारी गरिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्