२२ जेठ २०८३, शुक्रबार

पटनामा रहेको बीपीको सालिक संरक्षणको पहल गर्न माग

चैत १९, २०७८
पटनामा रहेको बीपीको सालिक संरक्षणको पहल गर्न माग

नेपाली कांग्रेसका संस्थापक स्व. बीपी कोइरालाको भारतस्थित पटनामा रहेको सालिकको स्थायित्व र संरक्षणका लागि तत्काल पहल गर्न बिहारका विधानसभा सदस्य प्रा.डा. वीरेन्द्रनारायण यादवले माग गरेका छन् ।

उनले बिहार राज्य सरकारसमक्ष संरक्षणको लिखित माग गरेका हुन् ।

बीपीको सालिक संरक्षण संवद्र्धनका लागि बीपी संग्रहालय सुन्दरीजलका अध्यक्ष परशुराम पोखरेलको प्रतिनिधि मण्डलले पटक–पटक ध्यानाकर्षण गराएपछि विधानसभा सदस्य यादवले सरकारसँग लिखित धारणा माग गरेका हुन् ।

यसअघि पोखरेल नेतृत्वको टोलीले गत फागुन दोस्रो साता गरेको पटना भ्रमणका क्रममा भारतीय नेताहरूलाई यस विषयमा ध्यानाकर्षण गराएको थियो ।

बीपी कोइराला भारतको स्वतन्त्रताका लागि बेलायती शासन विरुद्धको भारत छोडो आन्दोलनमा सहभागी भएका थिए । स्वतन्त्रतापछि भारतका प्रथम राष्ट्रपति बनेका डा. राजेन्द्रप्रसादसँग बीपी कोइराला भारतको स्वतन्त्रता आन्दोलनमा हजारीबाग जेलमा बसेका थिए । उक्त कुरालाई यादवले स्मरण गराएका छन् ।

हजारीबाग जेलमा मात्रै बीपी ३ वर्ष ६ महिना बसेका थिए । पटक–पटक गरेर झण्डै ४ वर्ष बीपी भारतको जेलमा बसेका जानकारी संग्रहालयका अध्यक्ष पोखरेलले दिए । बीपी १५ वर्षकै उमेरमा भारतीय स्वतन्त्रता आन्दोलनमा सहभागी भएका थिए ।

भारत स्वतन्त्र हुने भएपछि बीपीलगायत भारतीय नेताहरूलाई अंग्रेज सरकारले रिहा गरेको थियो ।

भारतको लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानको कदर गर्दै सन् १९९४ मा बिहारको राजधानी पटनामा बीपीको सालिक बनाइएको थियो । बीपी धर्मपत्नी सुशीला कोइरालाको उपस्थितिमा बिहारका तत्कालीन मुख्यमन्त्री लालुप्रसाद यादवले सालिकको अनावरण गरेका थिए । पटनाको गोलघरस्थित पार्कमा रहेको बीपीको सालिक संरक्षण हुन नसकेको भन्दै संग्रहालयले त्यसको प्रबन्ध मिलाउन पहल गर्दै आएको थियो । संग्रहालयका अध्यक्ष पोखरेलले विधान सभाका सदस्यले बीपीको सालिक संरक्षणका लागि लिखित रूपमा नै माग गरेपछि त्यसको संरक्षण संवद्र्धन हुने आशा पलाएको बताए ।

छिमेकी देशको लोकतन्त्रवादी नेतालाई यसरी स्थान दिइनु सुखद् पक्ष भएको उनको भनाइ छ ।

विधानसभा सदस्य यादवले भारतको स्वतन्त्रतासम्बन्धी आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका बीपीको सालिक संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याएका हुन् । लोकतन्त्रमा बीपीको नाम विश्वभर नै लिइने र भारतमा समेत विशेष योगदान रहेकाले सालिकको संरक्षण गर्नु बिहार सरकारको समेत विशेष दायित्व हुने उनले आफ्नो मागपत्रमा उल्लेख गरेका छन् ।

नेपालको लोकतन्त्र र बीपी कोइरालाको योगदानबारे पटक–पटक आवाज उठाउँदै आएका विधान सभाका सदस्य यादवलाई संग्रहालय भ्रमणको निम्तो समेत दिइएको जानकारी पोखरेलले दिए । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्